काठमाडौं , २०, कात्तिक
संसद सचिवालयका कर्मचारीले १० हजार रुपैयाँ दिए सूचना उपलब्ध गराइदिने बताएका छन् । सूचनाको हक सम्बन्धी नियमावलीमा १० पृष्ठसम्मको सूचना निःशुल्क पाउने व्यवस्था छ । तर सूचना मागेको तीन महिनापछि संसद सचिवालयका सूचना अधिकारी वंशिराज पौडेलले कर्मचारीले असहयोग गरेको कारण देखाउँदै दुई पृष्ठको सूचनाका लागि १० हजार रुपैयाँ माग गरेका हुन् । १० भदौमा नयाँ पत्रिकाकर्मीले पूर्वसांसदहरूको गतिविधिबारे सूचना उपलब्ध गराइदिन सूचना अधिकारी पौडेलसमक्ष निवेदन दिएका थिए । सो निवेदन सहसचिव हिमलाल सुवेदी हुँदै संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईकहाँ पुग्यो ।
उनले व्यवस्थापिका संसद्को अन्तिम बैठक बस्ने दिन २७ असोजमा मात्र निवेदन बमोजिमको सूचना दिन स्वीकृति दिए । तर सूचना दिन स्वीकृत गरेको २० दिन बितिसक्दा समेत सूचना उपलब्ध गराउनुको सट्टा १० हजार रुपैयाँ माग गरिएको हो । संविधानको धारा २७ को मौलिक हकमै सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक छ । सूचनाको हक सम्बन्धी ऐन, नियमावलीमा समेत कुनै पनि नेपाली नागरिकले सूचना माग गर्दा सम्भव भएसम्म तत्काल र बढीमा १५ दिनभित्र सूचना उपलब्ध गराइसक्नुपर्ने कानुनी व्यवस्था छ । तर संसद्को व्यवस्थापकीय काम सकिने अन्तिम दिन फाइल आफ्नो कार्यकक्षमा अड्किएको थाहै नभएको भन्दै सूचना दिन स्वीकृत गरेका हुन् । संसद्को कार्यकाल नरहे पनि सूचना दिन आनाकानी गर्दै सचिवालयका कर्मचारीले धेरै पृष्ठको सूचना हुने भन्दै १० हजार लाग्ने बताए ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया