गोरखा, कात्तिक, १८,
भूकम्पले घर भत्किएपछि बनाएको टहरोमा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीको संयुक्त झण्डा राख्दै बारपाकका मनबहादुर घलेले भने, “स्थानीय तह निर्वाचनमा जुन पार्टीले असहयोग ग¥यो उसैको झण्डा धुरीमा सजाउनुप¥यो ।” नेपाली काँग्रेस बारपाक कार्यसमितिका सभापति रहेका घले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए । अहिले उनी काँग्रेस र नयाँशक्तिको संयुक्त प्रचार प्रसारमा जुटेका छन् । काँग्रेसले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई गोरखा–२ प्रतिनिधि सभा र गोरखा २ (क) प्रदेश सभा छाडेर गोरखा १ प्रतिनिधि सभा र प्रदेश सभाका साथै गोरखा २ को (ख) प्रदेश सभा लिएको छ । गोरखा २ र (क) प्रदेश सभामा काँग्रेसले नयाँ शक्तिलाई सघाउने र अन्य क्षेत्रमा नयाँ शक्तिले काँग्रेसलाई सघाउने गरी संयुक्त चुनावी घरदैलो अभियान शुरु भएको छ ।
अहिले ‘गोरखा भूकम्प’ को केन्द्र बारपाकमा मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको रौनक देखिएको छ । गोरखा २ का उम्मेदवार डा. भट्टराई, गोरखा २ प्रदेश सभा (ख) का उम्मेदवार काँग्रेसका प्रकाशचन्द्र दवाडी बारपाक पुगेपछि घरदैलो र चुनावी सभाले चुनावी रौनकता थपेको छ । डा. भट्टराई र दवाडी बुधबार र बिहीबार बारपाक पुगेका थिए । बारपाकीले टहरामा झण्डा फहराएका छन् । बारपाकका जितबहादुर घलेले भने, “भर्खर चुनावी सभा तथा घरदैलो अभियान शुरु भएको छ । भोट कसरी हाल्ने भन्नेबारे वृद्धवृद्धालाई मतदाता शिक्षा दिन जरुरी छ । भोट कसरी हाल्ने हो भन्नेमा बारपाकी अन्योलमा छन् ।” दलहरुले मतदाता शिक्षा अभियान शुरु गरिसक्दा पनि निर्वाचन कार्यालयबाट भने मतदाता शिक्षाको कार्यक्रम शुरु भइसकेको छैन । प्रतिनिधि सभा र प्रदेश सभाका लागि बेग्लाबेग्लै मतपत्र छाप्ने भएपछि मतदाता शिक्षामा ढिलाइ भएको देखिन्छ ।
बारपाकीले विकास, निर्माणमा सहयोग पु¥याउने नेतालाई भोट दिएर जिताउने बताएका छन् । विगतमा खानेपानी, पक्की सडक लगायत विकासको आश देखाए पनि चुनाव जितेकाहरु फर्केर नआएको बारपाकीको गुनासो छ । घर बनाउन बालुवा चाल्दै गरेकी बारपाककी वृद्धा चिजमाया घलेले भनिन्, “वृद्धभत्ता बढाउने, गाउँमा अस्पताल खोल्न जसले सघाउँछ उसैलाई भोट दिन्छौँ ।” सरकारी अनुदान लिएर नयाँ घर बनाउन शुरु गरेका बारपाकका युवा खमबहादुर घलेले पार्टीमा लागेका कार्यकर्ताले जस्तै चुनावी कार्यक्रमलाई समय दिन नसके पनि आफूहरु भोट हाल्ने दिनको प्रतीक्षामा रहेको बताए ।
गोरखापत्रबाट





























प्रतिक्रिया