तेह्रथुम, १६ कात्तिक
जिल्लाको छथर क्षेत्रमा थन्क्याउन लागेको धानबाली असिनाले नष्ट गरेको छ । कृषकले भित्र्याउन लागेको धानबालीमा क्षति हुँदा लाखौँ बराबरको नोक्सान भएको छ । सोमबार साँझ परेको असिनाले धानबाली चुट्दा १० लाख भन्दा बढीको क्षति भएको कृषकले बताएका छन् । जिल्लाका जिरीखिम्ती, अम्फुवा र छथर गाउँपालिकामा असिनाले लाखौँ बराबरको क्षति भएको कृषक लोकबहादुर अधिकारीले बताए ।
म्याङलुङ नगरपालिकाको जिरीखिम्ती, अम्फुवा र छथर गाउँपालिकाको वडा नं १ र २ मा रहेका १०० भन्दा बढी कृषकको धानबालीमा क्षति भएको थियो । वर्ष दिनको कमाइ थन्क्याउन नपाउँदै असिनाले चुटेपछि कृषक चिन्तित बनेका छन् । करिब ३०० रोपनीमा रहेको खेतमा पाकेको धानमा क्षति भएको छ । खेतमा उब्जाएको अन्नले परिवार धान्दै आएका यामबहादुर कटुवाल भन्छन् , “वर्ष दिनको कमाइ असिनाले लग्यो, परिवारलाई धान्न कठिन हुने भयो ।” कृषकले खेतमा काटेर राखेको धान थन्क्याउन नपाइ असिनाले लगेको छ । खेतमा धान काटेर राखेको थियो एक्कासि असिना पानी आयो, केहीदिनमा थन्क्याउने तयारीमा थियौँ, क्षणभरमै माटोमा धान मिल्यो, कृषक तेजबहादुर अधिकारीले दुखेसो गरे । असिनाले धानखेतीमा क्षति पु¥याउँदा खाद्य संकट हुनसक्ने कृषि कार्यालय, तेह्रथुमले जनाएको छ ।
रासस





























प्रतिक्रिया