एसके बैश्य । काठमाडौं, ६ असोज ।
अवैध रुपमा भ्वाइप कल संचालन गरिरहेको एक गिरहोेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. १३ वाफलस्थित राम गोपाल श्रेष्ठ र सरिता नेपालको घरमा कोठा भाडामा लिई उक्त गिरहोेले अवैध रुपमा भ्वाइप कल संचालन गरिहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले भ्वाइप कल संचालन गर्ने उपकरणहरूसहित गिरोहमा संलग्न ४ जनालाई गत बुधबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) जीवन कुमार श्रेष्ठले बताए ।
टी.पी. लिङको राउटर, चार्जर, मोडिया कन्भर्टर, डिलिङको स्वीच, फाइबर टिफिन बक्स, एन्टेनालगायत उपकरणसहित १९ हजार २ सय रुपैयाँको प्रयोग नभएका रिचार्ज कार्डसमेत प्रहरीले बरामद गरेको हो ।
नियमित रुपमा संचालित अपे्रसन भ्वाइस फोक्स अन्तर्गत उक्त गिरहोलाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
पक्राउ पर्नेहरूमा झापा शनिश्चरे अर्जुन–२ का ३५ बर्षिय महेश घिमिरे, सुनसरी इटहरी उपमहानगरपालिका–२ का ३१ बर्षिय सन्तोष भन्ने खेमराज अधिकारी, चितवन रत्ननगर नगरपालिका–१० का २८ बर्षिय भरत दुलाल र सिन्धुली कमलामाई–७ का ३६ बर्षिय रन्जन थापा मगर गरी ४ जनाको गिरोह रहेको छ ।
पक्राउ गरिएको उक्त गिरोह उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत अनुसन्धान कार्य भैरहेको ब्युरोले जनाएको छ ।
अवैध भ्वाइप कल विरुद्द सिआइबीले स्थापना कालदेखि हालसम्म १ सय स्थानमा गरेको कारवाहीमा ३१ विदेशी र नेपाली १ सय २५ गरी १ सय ५६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका विरुद्ध ११ अर्ब ७९ करोड ५७ लाख ४६ हजार ३ सय ५४ रुपैयाँ ७६ पैसाको बिगो मागदावी गरी सिआइबीले सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
अवैैध भ्वाइप कलमा हालसम्म विभिन्न दूरसंचार कम्पनीहरुका २२ हजार ५ सय ८६ थान सिम कार्ड प्रयोग भएको ब्युरोले जनाएकको छ ।





























प्रतिक्रिया