महोत्तरी, ६, कार्तिक
हिन्दू धर्मावलम्बीहरूको अर्को महान् चार्ड छठ पर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्या रहेकामा करिब ८० प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको मनरा गाउँपालिका–१ का डोम रुदल मल्लिकले बताए । छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतको चोयाबाट तयार गरिएका डालो, नाङ्लो, टपरी लगायतका नयाँ भाँडाकुँडाले पर्व मनाउने भएकाले आफूहरूले छठ पर्वका बेला ती भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्न सफल हुने गरेको जलेश्वर–२ का रामजी डोमको भनाइ छ ।
गाँस, बास र कपासकै जोरजाममा पिढीदर पिढीलाई हम्मे हम्मे पर्ने गरेको डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त गर्ने गरेको महोत्तरीको विकट लोहारपट्टि नगरपालिकाकी ७० वर्षीया बुधनी डोमिनले बताइन् । डालो बुन्दै गरेकी जिल्लाको एकडारा गाउँपालिकाकी ५० वर्षीया रुक्मिनीया डोमिनले कात्तिक लाग्ने बित्तिक्कै घरका बच्चा देखि बूढासम्मले काम पाएर बिहान देखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले आफूहरू निकै खुशी भएको बताइन् । छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ । दिनदिनै छठ पर्व मनाउने व्यक्तिको संख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याईनभ्याई भएको उनीहरू बताउँछन् ।
रासस































प्रतिक्रिया