खुलामञ्चमा गरिबलाई खाना नबाँड्न काठमाडौं महानगरको निर्देशन

खुलामञ्चमा गरिबलाई खाना नबाँड्न काठमाडौं महानगरको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हन्ड्रेड्स ग्रुप्स नेपालका स्वयंसेवीले सधैँझैँ खुलामञ्चस्थित बसपार्कमा भेला भएका कोरोनापीडितलाई दिन खाना पकाइसकेका थिए । यही क्रममा ग्रुपका संयोजक अंशु यादवलाई अपरिचित नम्बरबाट फोन आयो, उठाए । उनले फोन गर्नेको परिचय मागे । उताबाट जवाफ आयो, ‘म काठमाडौं महानगरपालिकाको डिएसपी । खुलामञ्चमा त्यसरी खाना नबाँड्न माथिको आदेश छ । त्यसका लागि अब जिल्ला प्रशासन र महानगरपालिकाको स्वीकृति लिनुपर्छ ।’

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पछाडिपट्टि राष्ट्रिय सहकारी बोर्डसँगैको खाली चउरमा ग्रुपका स्वयंसेवीले खुलामञ्चमा भेला हुने ६ सयभन्दा बढी गरिबका लागि खाना तयार गरिरहेका थिए । खाना खुवाउन तत्काल रोक्ने महानगरपालिकाका डिएसपीको आदेशले यादव रन्थनिए । सात हजार पाँच सय किलो चामलसँगै तयार दाल र तरकारी के गर्ने भन्ने चिन्ताले सतायो, उनलाई ।

लकडाउनको तेस्रो दिन अर्थात् १४ चैतदेखि उनले समस्यामा परेका गरिब परिवारका लागि अनवरत खाना खुवाउँदै आएका छन् । सुरुका दिनमा खाना खाने थोरै थिए । तर, पछिल्ला दिन काठमाडौं मात्र होइन, भक्तपुर र ललितपुरबाट समेत खाना खान खुलामञ्च आउने गर्थे । दीनदुःखी सबैको अनुहार उनका आँखामा झलझली नाच्न थाले ।

‘दीनदुःखीलाई खाना दिएर राज्यको दायित्व नै पूरा गरिरहेका थियौँ । तर, त्यही राज्य किन निर्मम भएर रोक्न खोज्दै छ ?’ उनी प्रश्न गर्छन् । केही घन्टा अलमलमा परेका उनी खुलामञ्च पुग्ने र भिडेरै भए पनि खाना खुवाउने निष्कर्षमा पुगे । दाल, भात, तरकारी बोकेर उनी खुलामञ्च पुगे । खाना पाउने आसमा उनीभन्दा अघि नै दीनदुःखी लाइनमा बसिसकेका थिए । यादवसँगै गएका स्वयंसेवी भटाभट खाना बाँड्न जुटे । उनी भने महानगरपालिकाको ‘अब खाना नबाँड्नु’ भन्ने आदेश पुष्टि गर्नतर्फ लगे ।

महानगरपालिकाले उनीसँगै खाना बाँड्ने लाइन्स क्लब र हाम्रो नेपाल टिभीका स्वयंसेवीलाई पनि खाना नबाँड्न निर्देशन दिएको पत्ता लाग्यो । थप पुष्टि गर्न अब उनले महानगरपालिकामा बुझे । खुलामञ्च, मठमन्दिर, सार्वजनिक जग्गालगायत क्षेत्रमा खान नबाँड्न महानगरपालिकाबाट निर्णय भएको पक्का भयो ।

‘कोरोना महामारीले अर्थतन्त्र ठप्प छ । बेरोजगारी बढेको छ । आम्दानी घटेको छ । यस्तो वेला मानिसको घरमा चुलो बल्न छाडेको छ । भोकभोकै मर्ने अवस्था आएर नै हामीले यो अभियान सुरु गरेका हौँ,’ उनी भन्छन्, ‘तर, यही काम किन रोक्न खोजिँदै छ । खुलामञ्च, मठमन्दिर, सार्वजनिक जग्गामा पनि खाना दिन नपाउने हो, भने दुःखी गरिब अब कहाँ जाने ?’

खुलामञ्चमै खाना बाँड्दै आएकी अर्की अभियन्ता हुन्, बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा रानामगर । मठमन्दिर र सार्वजनिक जग्गामा दीनदुःखीका निम्ति खाना खुवाउन रोक्ने महानगरपालिकाको पछिल्लो आदेश भर्खरै थाहा पाएको उनले बताइन् । ‘दीनदुःखीलाई भेटिने भनेकै मठमन्दिरमा हो । त्यस्ता ठाउँमा खाना खान दिने प्रचलन त हामीकहाँ युगौँदेखि छ । तर, अहिले किन रोक्न खोजिँदै छ, मैले बुझ्न सकेकी छैन,’ उनले भनिन्, ‘यस्ता काम अब मानव सेवा धर्मले गर्छ भन्ने उहाँहरूको तर्क छ । जुन गलत हो ।’

पशुपति क्षेत्रआसपास दुःखी, गरिबलाई खाना खुवाउने अभियानमा सक्रिय अभियन्ता हुन्, प्रदीप घिमिरे । खुलामञ्च, मठमन्दिर र सार्वजनिक जग्गामा दीनदुःखीलाई खाना खुवाउन रोक्ने महानगरपालिकाको पछिल्लो निर्णय उनले पनि थाहा पाएका छन् । ‘सरसफाइ विधि पूरा गरेर खाना खुवाउनु अपराध होइन । खुलामञ्चमा यसैलाई कारण देखाएर रोक्न खोजिएको मैले सुनेको हुँ,’ उनले भने, ‘उहाँहरूले भनेझैँ सरसफाइमा ध्यान त दिनुपर्छ नै । तर, रोक्नैपर्ने भन्ने होइन ।’नयाँ पत्रिकाबाट

Logo