मोरङ, ५, कात्तिक
पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिकहरु भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् । कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडी समेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले मनग्य आम्दानी गर्न सफल भएका छन् । तर भन्सार कार्यालय, सीमा प्रहरी, सशस्त्र प्रहरीको गस्ती टोलीले भने यो विषयलाई सामान्य मान्दै आएको छ ।
भारतीय सीमा क्षेत्रबाट कवाडी संकलन गर्न दैनिक सयौँ भारतीय नागरिक नेपाल छिर्ने गर्छन् । साइकलमा चोरबाटो भएर आउने उनीहरूले नून, भान्सामा प्रयोग हुने सस्ता प्लास्टिकका सामग्री लिएर आउने गर्छन् । ती सामग्रीसँग उनीहरूले गाउँ–गाउँमा डुलेर कवाडी साट्छन् र भन्सार छलेर साइकलमै भारत छिर्छन् । नेपाली बजारमा २० रुपैयाँ पर्ने आयो नून भारतमा भारु आठ रुपैयाँमा पाइन्छ । त्यस्तै अरु सस्ता सामग्री पनि भारतीयबाटै ल्याएर उनीहरू दिनभर नेपालमा कवाडी संकलन गर्छन् र साँझ भारत फर्कन्छन् । कतिपयले नेपाली बजारमै कवाडी बेच्छन् । पाँच सात जनाको समूह बनाएर गाउँ पस्ने उनीहरूले नूनसँग फलाम, कीट, प्लास्टिक, थोत्रा साइकल, टिभी, पुराना किताब, पत्रपत्रिका र अन्य कवाडीका सामग्री साट्ने गर्छन् । नगद नै लिन चाहनेलाई फलामको प्रतिकेजी रु १५, कीटको रु १२ र प्लास्टिकको रु आठ दिने गर्छन् ।
आठ वर्षयता नेपालमा कवाडी व्यापार गर्दै आएका विहारको अररिया जिल्ला कुवाडी गाउँ बस्ने विद्यानन्द पासवानका अनुसार नेपालमा १५ रुपैयाँमा किनेको फलाम भारतमा भारु १४ मा, १२ रुपैयाँमा किनेको कीट भारु १२ र आठमा किनेको प्लास्टिक भारु ९ मा बिक्री हुने गर्छ । मोरङमा मात्र झण्डै ५०० जना कवाडी संकलक रहेको उर्लाबारी–३ स्थित कवाडी व्यवसायी आमोद हुसैनले बताए । विराटनगर भन्सार कार्यालयका तथ्यांक अधिकृत धर्मेन्द्रलाल कर्णका अनुसार आव २०७२/७३ मा ३१ हजार ४८० केजी पत्रुफलाम, ८९ हजार ८०० केजी रद्दी कागज र थोत्रे प्लास्टिक १२ लाख २१ हजार किलो भारत निकासी भएको थियो । त्यस्तै आव २०७३/७४ मा पत्रु फलामको निकासीमा उल्लेख्य वृद्धि भएको छ भने रद्दी कागज एक किलो पनि निकासी भएको छैन । २०७३/७४ मा पत्रु प्लास्टिक ५०० केजी मात्र निकासी भएको छ ।
आव २०७२/७३ मा कूल रु एक करोड ३३ लाख ८१ हजारको पत्रुफलाम, प्लास्टिक र रद्दी कागज निकासी गरेको विराटनगर भन्सारले आव २०७३/७४ मा रु एक करोड ४८ लाख बराबरको पत्रु निकासी गरेको छ । अघिल्लो आवको तुलनामा १४ लाख १९ हजार रुपैयाँले बढी भए पनि पत्रु प्लास्टिक र रद्दी कागज भन्सारको बाटो भएर भारत निकासी भएको देखिँदैन ।
रासस





























प्रतिक्रिया