सप्तरी, ५, कात्तिक
करिब एकसाता अघि अपहरणमा परेका एक भारतीय व्यापारीलाई प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित अम्बरबहादुर मगरको घरबाट सकुशल मुक्त गराएको छ । अपहरणमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको कञ्चनरुप नगरपालिका–८ बाट भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको भीमनगर ग्राम पञ्चायत–१० घर भएका कपडा व्यापारी अमितकुमार शारदालाई प्रहरीले शुक्रबार राति सकुशल मुक्त गराएको छ । उनको अपहरणमा संलग्न रहेको आरोपमा सप्तरीको कञ्चनरुप–४ का अम्बरनाथ विश्वास, सोही नगरपालिका वडा नंं ६ का शैलेन्द्रकुमार गुप्ता र वडा नम्बर ७ का पुष्कर महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाको साथबाट दुई थान कटुवा पेस्तोल र अपहरण गर्ने क्रममा प्रयोग भएको डिएल ३ सिएए ८९५६ नम्बरको भारतीय कार समेत बरामद भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पक्राउ परेका विरुद्व अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइने प्रहरी उपरीक्षक सिंहले बताए । व्यापारी शारदाको गत असोज २९ गते साँझ ५ बजे कञ्चनरुप नगरपालिका–८ स्थित व्यस्त सडकबाटै अपहरण गरिएको थियो ।
रासस





























प्रतिक्रिया