चितवन, २, कात्तिक
भरतपुरको वागीश्वरीमा आज सामूहिक गौ पूजन गरिएको छ । लक्ष्मी पूजा तथा गोवद्र्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गरिएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले गाईको पूजा गरी गौ पूजनको शुरुवात गरेका थिए। सो केन्द्रमा हाल १६० वटा स्थानीय गाई रहेका छन् । गौ पूजनका लागि स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो । केन्द्रका अध्यक्ष एवं देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गाईलाई खाना दिई गोवद्र्धनको पूजा गरिएको थियो । सो अवसरमा बोल्दै समाजसेवी श्रेष्ठले आफ्नो परम्पराको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताए ।
धर्म संस्कृतिले मानिसलाई नैतिकतामा राख्ने भएकाले यसको छुट्टै विशेषता रहेको उनको भनाई थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह, भरतपुर महानगरपालिका वडा नं २ का वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, गैरआवासीय नेपाली संघका सह–कोषाध्यक्ष सोमनाथ सापकोटा लगायतले बोलेका थिए । पवित्र तीर्थस्थल देवघाटको प्रवेश मार्गमा वागीश्वरी रहेको छ ।
रासस





























प्रतिक्रिया