वन्यजन्तु ओसारपसारमा संलग्न ४ विदेशीसहित ६ पक्राउ

वन्यजन्तु ओसारपसारमा संलग्न ४ विदेशीसहित ६ पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौ, १ कात्तिक।

वन्यजन्तु ओसारपसार गर्ने ४ विदेशी नागरिकसहितको एक गिरहोलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको छ । नाइजेरियाबाट आयातीत विभिन्न प्रजातिका जिउँदो वन्यजन्तु तथा पंक्षीहरुसहित उक्त गिरहोमा संलग्न ४ विदेशीसहित ६ जनालाई सीआइबीले पक्राउ गरेको हो । विभिन्न प्रजातिका वन्यजन्तु तथा पंक्षीसहित गिरहोलाई काठमाडौँ महानगरपालिका–३ बाँसबारी सल्लाघारीबाट पक्राउ गरिएको हो ।

विभिन्न प्रजातिका संरक्षित पशुपंक्षीहरु पैठारी गरी नेपालबाट भारतमा समेत खरिद बिक्री तथा ओसरपसार गर्ने गरेको विशेष सूचनाका आधारमा हिजो यस ब्युरोबाट खटिएको प्रहरी टोलीले उक्त गिरहोलाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले बताए ।

उक्त गिरोह बाँसबारी सल्लाघारीस्थित संजीव भारीको घरमा पैठारी गरी ल्याइएको जीवित चराचुरुङ्गीका साथै अबैध रुपमा लुकाई छिपाई राखिएको संरक्षित जीवित चिम्पाञ्जी र बाँदर प्रजातिका जनावरको ओसार पसार तथा खरिद विक्री गर्ने कार्यमा संलग्न थियो ।

जीवितै उद्धार गरिएका पशु–पंक्षीहरु चिम्पाञ्जी २, बाँदर प्रजाति ८, गोल्डेन फेजन चरा ७, रिङनेट फेजन चरा २, परेवा संख्या ३८ र सुगा ६५ वटा छन् ।

पक्राउ पर्नेमा पाकिस्तान कराँची, नर्थ नाजिमबादकी २२४ ब्लक स्थायी ठेगाना भएका राहदानी नं. जेड.डी.४१०६२५२ बाहक ५५ बर्षीय जावेद असलम खान, भारत बिहार, पटनामीर शिकार टोली वडा नं. ५४ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु बस्ने आधार कार्ड नं.२६५०-०९वाहक ३४ बर्षीय मोहम्मद उस्मान, सोही ठाउँका ५४ बर्षीय मोहम्मद फइम, भारत उत्तरप्रदेश, वारानसी लखनउ स्थायी ठेगाना भएका राहदानी नं.एल ५१८२४५० वाहक ३५ वर्षीय चांदबाबू मोहम्मद शरीफ सहीद गरी विदेशी ४ र काठमाडौँ महागनगरपालिका–३ बाँसबारी सल्लाघारी बस्ने ४० बर्षीय घरधनी संजीव भारी, साबिक बारा डुमरवाना गा.वि.स. वडा नं. ४ स्थायी ठेगाना भई हाल काठमाडौँ बुढानीलकण्ठ १० कपन बस्ने भन्सार एजेन्ट ४२ बर्षीय राजकुमार तिवारी छन् ।

पक्राउ गरिएको उक्त गिरहोलाई आवश्यक कानुनी कारवाहीका लागि आज बुधबार जिल्ला वन कार्यालय हात्तीसार काठमाडौमा बुझाइएको ब्युरोले जनाएको छ ।
साथै जीवितै उद्दार गरिएका पशुपंक्षीहरु यस कार्यालयमा राख्ने उपयुक्त स्थान नभएको कारण हिजो नै संरक्षणका लागि सदर चिडियाखाना जावलाखेल ललितपुरमा बुझाइएको पनि ब्युरो प्रमुख डिआइजी पुष्कर कार्कीले बताए ।

 

 

Logo