क्याटलोनियाको स्वतन्त्रता प्रयास र समस्या

क्याटलोनियाको स्वतन्त्रता प्रयास र समस्या

केन्द्रबिन्दु
0
Shares

– दिलीप शर्मा

काठमाडौं, असोज २८ । क्याटलोनिया सरकारले स्पेनबाट छुट्टिनका लागि अक्टोवर १ मा गराएको जनमत संग्रहमा ४० प्रतिशत जनताले मत खसालेका छन् । तर खसेको मतमध्ये ९० प्रतिशत मत स्पेनबाट अलग्गिनु पर्ने पक्षमा रहेको केन्द्र सरकारको दाबी छ ।

जनमतसङ्ग्रहको नतिजा आएसँगै बार्सिलोनामा एउटा ठूलो भीडलाई सम्बोधन गर्दै क्षेत्रीय सरकार प्रमुख कारलेस पूजमोनले क्याटलोनियाका जनताले स्वतन्त्र राष्ट्र बनाउने अधिकार प्राप्त गरेको बताउनुभएको छ । तर, स्पेनको केन्द्र सरकारले जनमत संग्रह अवैध भएको घोषणा गरेको छ ।

प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियाका अधिकांश जनता स्वतन्त्र राष्ट्रको पक्षमा नरहेको दाबी गर्नुभएको छ ।

तर क्याटलोनियालीले आफ्नो स्रोत सबै केन्द्रमा पुग्ने भएपनि म्याड्रिडले आफूलाई जहिले पनि छड्के आँखाले हेर्ने व्यवहारबाट आजित भएका कारण स्वतन्त्रताको पक्षमा उभिएको बताउँछन् ।

क्याटलोनिया स्पेनको सबैभन्दा धनी र उत्पादनशील क्षेत्र हो । यसको आफ्नो छुट्टै एक हजार वर्ष पुरानो इतिहास छ । क्याटलोनियामा बोलिने भाषाा छुट्टै छ र उनीको वेग्लै संस्कृति तथा पहिचान छ ।

स्पेनी गृहयुद्ध अघि नै यसले बृहत स्वायत्तताको उपभोग गर्दै आएको थियो । तर जनरल फ्रान्सिस्को फ्रान्कोकोे दमनको शिकार क्याटलोनियालाई हुनुपर्यो ।

सन् १९७५ मा फ्रान्सिस्कोको तानाशाही शासनको अन्त्य भएपछि सन् १९७८ को संविधानअनुसार क्याटलोनिआले पुनःस्वायत्तता प्राप्त गर्यो । सन् २००६ मा यसले थप शक्ति प्राप्त गर्यो । यसले एउटा ‘राष्ट्र’को रुपमा मान्यता पायो ।

स्पेनको संबैधानिक अदालतले क्याटलोनियालीका धेरै अधिकार खारेज गरिदियो । फलस्वरुप स्थानीय अधिकारी यसबाट चिढिए । स्पेनमा सुरु भएको आर्थिक मन्दीसँगै सार्वजनिक खर्चमा कटौती गरियो यसले पनि स्थानीयलाई बेखुशी बनायो । सन् २०१४ को नोभेम्बरमा अनौपचारिक जनमत संग्रह गरिएको थियो । त्यस बेला कुल मतदाता संख्या ५४ लाख रहेकोमा २० लाख भाग लिएको र ८० प्रतिशत भोट स्वतन्त्रताको पक्षमा परेको बताइएको छ ।

सन् २०१५ मा स्वतन्त्रता पक्षधरले चुनाव जिते र सरकार बनाए । त्यही सरकारले स्वतन्त्र हुने वा स्पेनमै रहने एउटा प्रश्न सोधेर जनमत संग्रहको घोषणा गरे । जनमत संग्रह हुन लागि रहेको बेला स्पेनको राष्ट्रिय प्रहरी र अर्ध सैनिक बलले हस्तक्षेप गरेको उनीहरूको दाबी छ । यसले निर्वाचनमा थोरै सहभागिता भएजस्तो देखिएको क्याटलोनियाली नेता बताउछन् ।

दुइ हप्ता पहिले भएको जनमत संग्रहका क्रममा कैयौँ स्थानमा प्रहरी र स्वतन्त्रता पक्षधरबीच हिंसात्मक झडपहरु भए । अन्तरराष्ट्रिय सञ्चारमाध्यमले मड्रिडको आदेशमा राष्ट्रिय प्रहरीले कैयौँ मतदान केन्द्रहरु बन्द गराएको तथा मतदानका लागि कुरिरहेका मतदातामाथि नै बल प्रयोग गरेको भन्ने समाचारलाई बाहिर ल्याए ।

राष्ट्रपति काल्र्स पुज्डमोनले विवादास्पद जनमत संग्रहपछि संसदमा सम्बोधन गर्दै क्याटलोनिया स्वतन्त्र राज्य बनेको घोषणा गर्ने अनुमान गरियो । तर पुज्डमोनद्वारा संसदमा स्वतन्त्र क्याटालोनियाको पक्षमा प्राप्त जनमतको पालना गर्नेमा कुनै दुविधा नराख्न भन्दै जनमतसङ्ग्रहमा मतदान गर्ने क्याटलोनियाली जनताप्रति आभार मात्र प्रकट गरियो । पुज्डमोनले पहिले केन्द्र सरकारसँग समस्या समाधानका लागि वार्ता गर्ने बताएपनि विवाद अझै साम्य भएको छैन ।

क्याटलोनियाली स्वतन्त्रता पक्षधर नेताले स्पेनबाट स्वतन्त्र बन्ने घोषणपत्रमा हस्ताक्षर गरिसकेका बताएका छन् । घोषणापत्रमा क्याटलोनिया एक स्वतन्त्र र सार्वभौमसत्ता राज्यको रुपमा पहिचान गरिएको छ ।

स्पेनका राजा फेलिपे छैठौंले देशवासीलाई सम्बोधन गर्दै सम्पूर्ण स्पेनवासीसँग एकताको पक्षमा रहन आग्रह गर्नुभयो । लगत्तै दिएको अन्तर्वार्तामा मड्रिड केन्द्र सरकार र आफ्नो सरकारबीच हाल कुनै सम्पर्क नरहेको पूज्डमोनको भनाई आयो ।

उक्त राज्यको स्वतन्त्रताका भन्दा एकताको पक्षमा जनमत सिर्जना गर्न बार्सिलोना तथा म्याड्रिड लगायतका स्पेनीस सहरमा दिन प्रतिदिन कार्यक्रमहरु जारी छन् ।

क्याटलोनियाली नेता पुज्डमोन क्याटलोनिया स्पेनबाट अलग्गिन पाउनुपर्ने मागमा हुनुहुन्छ । तर उहाँलाई यो योजना छोड्न चर्को दबाब क्याटलोनियाभित्रैबाट पनि आइरहेको बुझिएको छ । किनकि टुक्रिएको राज्यबाट वर्तमान स्पेनको स्तरमा सेवा सुविधा पाउनेमा कतिपय क्याटलोनियाली नै ढुक्क देखिँदैनन् ।

विवाद र दबाबका कारण मतदान परिणाम आएको एक हप्ताभित्रै गर्ने भनिएको क्याटलोनियाको औपचारिक स्वतन्त्रता घोषणा भने हुन सकिरहेको छैन ।

मतदानको दुई दिनपछि स्वतन्त्रता पक्षधरले क्याटलोनिया नै ठप्प हुने गरी घोषणा गरेको बन्द आह्वान र विभिन्न शहरहरूमा भएको प्रदर्शनमा व्यापक प्रहरी हस्तक्षेप भएको तर यसमा यूरोयिन युनियन यसमा मौन बसेको देखेर प्ले कार्ड प्रदर्शन गर्दै प्रश्न गरे,ँयुरोप कहाँ छ”रु

यसैबीच जनमत सङ्ग्रहलाई स्पेनको संवैधानिक अदालतले अवैधानिक बताउँदै आएको छ । क्याटलोनियाका क्षेत्रीय सरकार प्रमुख पूज्डमोनले स्पेनबाट क्याटलोनिया स्वतन्त्र भएको घोषणा गर्ने तयारी गरिरहेका समय गत बिहीबार स्पेनको संवैधानिक अदालतले क्याटलन संसद्को बैठक नै स्थगित गरिदिएपछि स्थिति अन्यौलतातर्फ धकेलिएको छ ।

दुई दिन पहिले स्पेनका प्रधानमन्त्री म्यारियानो रखोएले क्याटलोनिया स्वतन्त्र राज्य घोषणा भएको हो या होइन भन्ने स्पष्ट पार्न त्यहाँका प्रशासनिक नेताहरुलाई पाँच दिनको अल्टिमेटम दिनुभएको छ । प्रधानमन्त्री म्यारियानोले क्याटलोनियाको सरकारले स्वतन्त्रताको घोषणा गरेको हो या होइन भन्ने स्पष्ट भएपछि थप प्रक्रिया अघि बढाइने बताउनुभयो । मंगलबार मात्र यहाँको क्षेत्रीय सरकारले जनमत संग्रहको परिणामको हवाला दिएर क्याटालोनियाको स्वतन्त्रताको घोषणा गरेको थियो ।

सोही सूचनाका आधारमा स्पेनका प्रधानमन्त्रीले क्याटलोनिया प्रशासनलाई प्रश्न गरेको बताइएको छ । यदि स्वतन्त्रता घोषणा गरेको भएमा सरकारले सोही बमोजिम निर्णय आउने प्रधानमन्त्रीको भनाइ थियो । आगामी सोमबारभित्रमा स्वतन्त्र घोषणा सम्बन्धी हस्ताक्षर गरिएको घोषणा फिर्ता नगरेमा स्पेनको संविधानको धारा १५५ अनुसार क्याटलोनियाको स्वायत्तता निलम्बन गरी केन्द्रीय शासन लागु गर्ने प्रधानमन्त्री रखोइको भनाई छ ।

स्पेनबाट क्याटलोनिया अलग हुने सम्भावना चलिरहेका समय युरोपियन युनियनले यसलाई कसरी हेर्नेछ र अन्तरराष्ट्रियस्तरबाट कस्तो सहयोग र समर्थन मिल्नेछ यसबारे अझै केही अनुमान लगाइहाल्न सकिने अवस्था छैन । टुक्रिएपछि स्पेन र क्याटलोनिया बीचको व्यापारिक, राजनीतिक कुटनीतिकलगायतका सम्बन्धले पनि यसको भविष्य कस्तो रहनेछ तय हुनेछ ।

स्पेनबाट क्याटलोनिया स्वतन्त्र हुने हल्लाले खेल जगत खासगरी फुटवलमा ठूलो प्रभाव पर्ने देखिन्छ ।”बार्सिलोना फुटबल क्लव” को भविष्य के होला ? भनेर अहिले ठूला–ठूला बहस चलिरहेका छन् ।

स्पेनी संचार माध्यमले स्पेनमा पाँचौ ठूलो बैंकका रुपमा मानिने ‘बैंको साबाडेल’ ले आफ्नो हेडक्वाटर क्याटलोनियाबाट म्याड्रिड वा आलिकान्ते सार्ने योजना बनाईसकेको बुझिएको छ । यदि सवै संघसंस्थाले क्याटलोनियाको भविष्य नदेखेर विकल्प सोच्न थाले भने उनीहरूको कदमले क्याटलोनियाको अर्थतन्त्रलाई समेत प्रभावित तुल्याउनेछ ।

स्पेनमा हजारौँको सङ्ख्यामा रहेका नेपालीमध्ये झण्डै आधा नेपालीहरू क्याटलोनियामा बसोबास गर्छन् । यदि क्याटलोनिया स्वतन्त्र भएमा नयाँ आप्रवासी नीति कस्तो बन्छ रु यो नेपालीहरुका लागि सवैभन्दा महत्वपूर्ण हुनेछ । स्पेन सरकार कै नीतिलाई यहाँ पनि निरन्तरता हुन्छ भन्नेमा कुनै निश्चितता छैन । नयाँ नीतिले स्पेनमा रहेका नेपालीलगायत अन्य आप्रवासीलाई समस्या पार्नसक्नेमा उनीहरू सशङ्कित छन् ।

स्पेनको प्रमुख आर्थिक स्रोत नै क्याटलोनिया भएकाले कतिपय विश्लेषकले यदी यो नयाँ मुलुक बनेमा भविष्य झन् उज्वल हुन पनि बताउने गरेका छन् । यद्यपी मुलुकको आप्रवासी नीतिले नै यी सबै कुराकोे भविष्य निर्धारण गर्ने छ । रासस

Logo