काठमाडौं , असोज,२५
‘मैना सुनार हत्या प्रकरण’ मा अवकाश प्राप्त तीनजना सैनिक अधिकृत माथि सुनाइएको जन्मकैद फैसला बदरको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाली सेनाको तर्फबाट अख्तियार प्राप्त सेना प्राड विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कटुवाललाई वारेस राखी सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जिल्ला अदालत काभ्रेले गत वैशाखमा २० वर्ष कैद सजायँको फैसला सुनाएको थियो ।
सर्वोच्चमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शान्ति तथा पुननिर्माण मन्त्रालय, महान्याधिवक्ताको कार्यालय, काभ्रे जिल्ला अदालत, मैना सुनारकी आमा देवी लगायतलाई विपक्षी बनाइ असोज ६ मा रिट दर्ता भएको हो । ‘कानुनका सर्वमान्य सिद्धान्त र दोहोरो खतराको सिद्धान्त सम्बन्धमा सर्वोच्चबाट प्रतिपादित नजिरविपरीत, क्षेत्राधिकारविहीन भएकाले फैसला उत्प्रेषणको आदेशले बदर गरिपाऊँ’, निवेदनमा माग दाबी छ । माओवादी द्वन्द्वका बेला काभ्रे खरेलथोककी १५ वर्षीया किशोरी मैनालाई पक्राउ गरी सैनिक ब्यारेकमा लगेर हत्या गरेको अभियोग थियो ।
जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासले ३ वैशाखमा सुनाएको फैसलामा तीनै जनालाई मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैदको सजायँ हुने भनिएको छ । मैनालाई २०६० फागुन ५ मा पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका सैनिकले घरमै गएर पक्राउ गरेका थिए । उनलाई पक्राउ गर्दा तत्कालीन सहसेनानी निरञ्जन बस्नेतले चलाएको गाडीमा राखेर सैनिक तालिम केन्द्र पाँचखालमा ल्याइएको थियो । मैना हत्याको अभियोग लागेका चार जना मध्ये बस्नेत सेनामै कार्यरत छन् ।
नागरिकबाट





























प्रतिक्रिया