नवलपरासी, असोज, २३
जिल्लाको दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका र बुलिङ्गटार गाउँपालिकालाई अदुवा र अम्रिसो गाउँ बनाउने अभियानमा यहाँका बासिन्दा जुटेका छन् । हुप्सेकोट गाउँपालिकाको हुप्सेकोट वडामा नौ वटै टोल समेटेर यो वडालाई अदुवा र अम्लिसोको गाउँका रूपमा विकास गर्न र देशभरि नै चिनाउन जुटेको हुप्सेकोटका स्थानीय खेम सारु मगरले बताए । सो वडामा बसोबास गर्ने स्थानीयले चार लाख किलो अदुवा उत्पादन हुने र डेढ करोड भन्दा बढी आम्दानी लिने गरेको सारुको भनाइ छ । यो वडाको सबै जसो टोलमा राम्रो अदुवा उत्पादन हुने कृषकहरू बताउँछन् ।
पछिल्लो समय अम्रिसो उत्पादन हुने मुख्य गाउँको रूपमा पनि हुप्सेकोट प्रख्यात छ । सात वर्ष अगाडि देखि व्यावसायिक अम्रिसो सुरु गरेको हुप्सेकोटमा गतवर्ष एक करोड रुपियाँ भन्दा बढी अम्रिसोबाट आम्दानी गर्न सफल भएको हुप्सेकोट वडाका कर्मचारी तथा स्थानीय चक्रबहादुर खाम्चा मगरले जानकारी दिए। महाभारत शृङ्खला अन्तरगत पर्ने हुप्सेकोट र छिमेकी बुङ्गदीकाली गाउँपालिकाको रुचाङ्ग र बुलिङ्गटार गाउँपालिकाको गोठडाँडा, छरछरे, अम्रिसो उत्पादनमा नेपालकै उत्कृष्ट मानिन्छ । यी गाउँहरू उत्कृष्ट अम्रिसो उत्पादन गाउँको रूपमा पुरस्कृतसमेत भइसकेका छन् ।
गोरखापत्रबाट





























प्रतिक्रिया