केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ असोज ।
केही दिनपहिले मात्र औपचारिक तवरले नेकपा एमाले पार्टी प्रवेश गरेका प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले पदबाट दिएको राजीनामा प्रहरी मुख्यालयले स्वीकृतिका लागि पठाएको २० दिन पुग्दा पनि पत्र गृह सचिवले बुझ्न नमानेको नयाँ तथ्य सार्वजनिक भएको छ ।
सिलवालले गत भदौ २८ मा दिएको राजीनामा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सनाखत गरी स्वीकृतिका लागि असोज १ गते गृहमन्त्रालयका पठाएको स्रोतले उल्लेख गरेको छ ।
आइजिपी बन्न पाउँ भनी आफूले दिएको रिट सर्वोच्च अदालतबाट खारेज भएपछि त्यस लगत्तै सिलवालले प्रहरी नायब महानिरीक्षकको पदबाट राजिनामा दिएका थिए ।
उनको राजिनामा स्वीकृति गर्नु मनासिव हुने व्यहोराको पत्रमा आईजीपी अर्याल आफैंले हस्ताक्षर गरेको स्रोतले उल्लेख गरेको छ ।
तर, गृह सचिव लोक दर्शन रेग्मीले नियतवशः राजीनामा स्वीकृति रोकेको आरोप सिलवालले लगाएका छन् । राजीनामा स्वीकृत नभई राजनीतिमा लागेको भनेर दुःख दिने नियोजित उद्देश्यबाट प्रहरी प्रधान कार्यालयको पत्र गायव पारिएको आरोप सिलवाल पक्षको छ ।
स्रोतका अनुसार, आइजिपी अर्यालले राजीनामा स्वीकृतार्थ पठाइएको पत्रमा यस्तो ब्यहोरा लेखिएको छ, ‘सिलवालले आफ्नो घरायसी समस्या दर्शाई नोकरी राजीनामा स्वीकृत गरी पाउँ भनी पेश गरेको नोकरी राजीनामा कागजको व्यहोरा मनासिवै ठहराई नोकरी राजीनामा स्वीकृतार्थ आएकाले निज नायव प्रहरी महानिरीक्षकको नोकरी राजीनामा स्वीकृत गरिदिनु हुन प्राप्त नोकरी राजीनामा तथा सनाखत कागज र तीन पुस्ते अभिलेख यसै पत्रसाथ संलग्न राखी पठाइएको व्यहोरा सादर अनुरोध गरिएको छ ।’
सिलवालको राजीनामा स्वीकृतिका लागि पठाइएको पत्र मन्त्रालयमा दर्ता भइसकेको छ । तर, सचिव रेग्मीले सो पत्रको व्यहोरो नमिलेको भन्दै फिर्ता पठाएको स्रोतले जनाएको छ । उता रेग्मीले भने राजीनामा स्वीकृतिको पत्र आफूले नपाएको दावी गरेका छन् ।
नियतवश आफूलाई फसाउने मनसाय सचिवले राखेपछि सिलवाल एमाले शीर्ष नेतृत्वसँग सल्लाह गरेरै तत्काल एमाले प्रवेश गरेको स्रोतले जनाएको छ ।
सिलवाललाई आइजिपी नियुक्ति प्रकरणमा कार्य सम्पादन मूल्यांकन नम्बर किर्ते गरेको आरोपमा कारवाही गर्ने चाहना प्रधानमन्त्री शेरवहादुर देउवा र तत्कालीन महान्यायाधिवक्ता रमण श्रेष्ठको थियो । त्यसमा सचिव रेग्मी पनि थिए । तर गृहमन्त्री जनार्दन शर्मा सहमत नभएपछि सिलवाललाई कारवाही गर्ने प्रयास सफल हुन नसकेको हो ।
स्रोत भन्छ– प्रहरी प्रवक्ता मनोज नेउपानेले डिआइजी सिलवालको राजीनामा स्वीकृत भएर आइनसकेको बताएका छन् ।





























प्रतिक्रिया