बनेपा, २२, असोज
काभ्रेपलाञ्चोकमा पहिलो पटक एउटा सहकारी संस्थाले हिजो देखि एटिएम कार्ड संचालनमा ल्याएको छ । पनौती नगरपालिकाको खोपासीमा रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाले संचालनमा ल्याएको एटिएम कार्डको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शुभारम्भ गरेका थिए । सो एससिटी कार्डबाट सहकारी संस्थामा बचत भएको रकम बचतकर्ताले एससिटीको सुविधा भएको जुनसुकै एटिएमबाट पनि निकाल्न सक्नेछन् । सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभामा सचिव मैनालीले सहकारी संस्थालाई औद्योगिक कार्यमा लागेर अर्थतन्त्रमा योगदान गर्न आग्रह गरे ।
सहकारी संस्थाका अध्यक्ष प्रदीप थापाले सहकारी आन्दोलनको पहिलो दशकको अवधिमा राज्यको स्पष्ट नीति र पद्धतिको अभावले आर्थिकमैत्री सहकारी बन्न नसकेको आरोप लगाए । वि.सं ०५० सालमा स्थापना भएको सो सहकारीले एक अर्ब ४२ करोड पाँच लाख बचत गरेको छ भने एक अर्ब ५९ करोड २३ लाख ऋण लगानी गरेको बताइएको छ । सहकारीमा ३० हजार सदस्य आबद्ध छन् । यस बाहेक अन्य केही सहकारी संस्था पनि एटिएम कार्ड चलाउने तयारीमा छन् । रासस





























प्रतिक्रिया