काठमाडौं,२०, असोज
सरकार परिवर्तन गर्दा वा माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता बोलाउँदा कांग्रेस नेतृत्वको सरकारले १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्न सक्ने भएकाले त्यतातर्फ आफूहरू नलागेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । ‘अहिले सरकार परिवर्तनतर्फ सोच्दा वा माओवादी केन्द्रका मन्त्री फिर्ता बोलाइँदा सरकारले यही कारण देखाउँदै चुनाव सार्न सक्छ । चुनाव सरेको दोष हामीमाथि आउँछ । यसकारण सरकार परिवर्तनतर्फ हाम्रो सोच गएको छैन,’ सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै नेम्वाङले भने । पूर्वसभामुख समेत रहेका नेम्वाङले ४ कात्तिकमा स्वतः संसद विघटन भएपछि काम चलाउ सरकारले निर्वाचनको मिति सार्न नमिल्ने जिकिर गरे । घोषित प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कुनै पनि हालतमा गराउनुपर्ने पक्षमा आफूहरू रहेकाले सरकार परिवर्तनको खेलमा नलाग्ने उनले बताए । एमाले–माओवादी गठबन्धनसँग सरकार फेर्न बहुमत पनि छैन ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया