न्यूयोर्क, ६, असोज
संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग भेटवार्ता शुरु गरेका छन् ।
सो क्रममा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गत अफगानिस्तानका राष्ट्रपति तथा पाकिस्तान र बंगलादेशका प्रधानमन्त्रीसँग देउवाले छुट्टाछुट्टै भेटवार्ता गरे । देउवाले बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बानी सँग महासभास्थलमा छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । दुवै भेटमा दुई देशबीचको आपसी सम्बन्ध, चासो र सहयोगका विविध पक्षबारे कुराकानी भएको जनाइएको छ । भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई लगायत सहभागी थिए । राष्ट्रसंघको ७२ औँ महासभालाई प्रधानमन्त्री देउवाले असोज ७ गते सम्बोधन गर्ने कार्यक्रम छ । देउवा राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान त्यहाँ पुगेका थिए।
रासस





























प्रतिक्रिया