अबुधावी (युएई), ४ असोज
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने क्रममा मंगलबार राति १० बजे अबुधाबी पुगेका छन् । महासभामा भाग लिन न्यूयोर्क जाने क्रममा बाटोमा पर्ने मुलुक संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई त्यहाँ स्थित कावा नेपाली राजदूत नेत्रबहादुर टण्डनले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल बुधबार बिहान न्यूयोर्कका लागि प्रस्थान गर्नेछ । प्रतिनिधिमण्डल काठमाडौँबाट मंगलबार अपराह्न ५ बजे इतिहाद एअरलाइन्सबाट अबुधाबीका लागि प्रस्थान गरेको थियो । प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डलमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई लगायत सहभागी छन् । उपप्रधानमन्त्री महरा भने आइतबार नै न्यूयोर्क प्रस्थान गरिसकेका छन् ।
रासस





























प्रतिक्रिया