काठमाडौं ।
कोरोना भाइरसको सङ्क्रमणबाट आज बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एकरएकजना पुरुष रहेका छन् ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । शनिवार मात्रै उपचारका लागि नोबेल पुर्याइएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै सङ्क्रमण पुष्टि आएको थियो । योसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको घरमै आज बिहान मृत्यु भएको छ । मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा सङ्क्रमण पुष्टि भएको थियो । केही दिन यता उहाँ होम आइसोलेसनमा बस्नुभएको थियो । योसँगै कमलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताए।
त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गए राति घरैमा मृत्यु भएको छ । कात्तिक १३ गते सङ्क्रमण पुष्टि भएको उनीको घरैमा उपचाररत थिए । योसँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए । शनिबार पनि झापामा तीन जनाको मृत्यु भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ ।
बाँकेमा दुई जना सङ्क्रमितको मृत्यु
बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ८ गते अस्पताल भर्ना भएका महिलामा परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित महिलालाई रोगको प्रकृति अनुसार गरिनु पर्ने प्लाजामा थेरापी लगायत सबै प्रकारको उपचार दिँदै गर्दासमेत बिरामीको अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड आइसियुमा उपचारकै क्रममा गए राति मृत्यु भएको हो । योसँगै कोरोना भाइरसका कारण बाँकेमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ३१ पुगेको छ ।
यसैगरी, स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १४ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएका कैलालीका ६० वर्षीय पुरुषमा कात्तिक १५ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएका सङ्क्रमित पुरुषलाई रोगको प्रकृति अनुसार गरिनु पर्ने सबै प्रकारका उपचार दिँदै गर्दासमेत बिरामीको अवस्थामा सुधार नआएपछि गए राति १ बजे शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसियुमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।
कोरोनाका कारण केही दिन यता बाँकेका अस्पतालमा दैनिकजसो बिरामीको मृत्यु हुन थालेको छ । बाहिरी जिल्लाबाट उपचार गराउन बाँकेमा आउँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।





























प्रतिक्रिया