वाग्मती सफाइ: अहिलेसम्मकै सबैभन्दा बढी फोहर व्यवस्थापन

वाग्मती सफाइ: अहिलेसम्मकै सबैभन्दा बढी फोहर व्यवस्थापन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३१ भदौ । वाग्मती सफाइ महाअभियान शुरु भएको २२७ औँ हप्तामा उपत्यकाबाट सबैभन्दा बढी ६७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 
वाग्मती सफाइको २२७ औँ हप्तामा आज बानेश्वर क्याम्पसअघि जनचेतनामूलक अभियानसहित सफाइ गरियो । 

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिकालगायत संस्थाका ४५० अभियन्ताको सहभागिता रहेको प्रवक्ता उमेश बोहराले बताए । 

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १८९ औँ हप्तामा आज गोकर्णेश्वर नगरपालिकास्थित हनुमानघाट क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनीमैत्री समाजलगायत संस्थाका १०० अभियानकर्मीको सहभागिता थियो । 

रुद्रमती सफाइको १८७ औँ हप्तामा कमलपोखरीदेखि गौशाला चोकसम्मको सडकमा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ््याउँदा जम्मा भएको धुलो सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए । सांसद गीता राणा, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र काठमाडौँ महानगरपालिका–३० का वडा अध्यक्ष दलबहादुर कार्कीको नेतृत्वमा भएको सफाइबाट १२ मेट्रिक टन धूलो व्यवस्थापन गरियो । धूलो व्यवस्थापनका लागि स्काभेटर, जेसिबी र ट्रिपर पनि प्रयोग गरिएको थियो । 

विष्णुमती सफाइको १५८ औँ हप्तामा माछापोखरी–बालाजु सडक किनारमा ट्राफिक प्रहरीले सम्याउँदा जम्मा भएको १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ५०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । तिलगंगा महिला समूहले तिलगंगा क्षेत्रको वाग्मती नदीमा गरेको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । यसैगरी चक्रपथ सफाइको २३ औँ हप्तामा वसुन्धरादेखि महाराजगञ्जसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ८०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । 

मीनभवनस्थित आलोकनगरमा सकारात्मक मातृशक्ति आवाजले गरेको २३ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा १०० भन्दा बढी महिलाको सहभागिता थियो । सो अवसरमा वाग्मती नदी किनारमा निर्माण सम्पन्न गरिएको प्रतिक्षालयको पनि उद्घाटन गरियो । 

यसैगरी बल्खुस्थित इन्द्रमती नदी सफाइको तेस्रो हप्तामा आज खड्कुलो पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । मनोहरा नदीको तेस्रो हप्ताका सफाइ कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटी आवास गृहअघि गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन भयो । यसैगरी वाग्मती सफाइ महाअभियानको नेतृत्वमा शुरु भएको पशुपति क्षेत्र सफाइ १०० दिनसम्म निरन्तर जारी रहने प्रवक्ता उमेश बोहराले जानकारी दिए । 

पशुपतिमा आइतबारदेखि दैनिक तीनचरणमा सफाइ गरिनेछ । बिहान पाँच बजेदेखि राति २ बजेसम्म तीन समूह बनाइ सफाइ एवं ढुंगामा पालिस लगाएर चम्काइनेछ । 
दैनिक तीन चरणमा गरिने सफाइमा स्वयंसेवीका रुपमा काम गर्न चाहनेले सफाइ महाअभियानमा सम्पर्क गर्नसक्ने उनले बताए । पशुपति सफाइमा पशुपति क्षेत्र विकास कोष र हेम्स क्लिनिङको पनि सहयोग रहदै आएको छ । रासस

Logo