सन्दिप कुमार वैश्य । काठमाडौं, २३ भदौ ।
पाँच वर्षको अवधिमा काठमाडौ जिल्ला अदालतमा विभिन्न प्रकारका ६४ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् ।
जिल्ला अदालत काठमाडौंको तथ्यांक अनुसार आर्थिक वर्ष २०६९-०७० देखि चालु आर्थिक वर्षको भाद्र १९ गतेसम्म ६४ हजार ३ सय २५ मुद्दा दर्ता भएका हुन् । ५ वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७३-०७४ सालमा मुद्दा दर्ता भएका थिए भने सबैभन्दा कम आर्थिक वर्ष २०६९-०७० सालमा दर्ता भएका हुन् ।
गत आर्थिक वर्ष २०७३-०७४ मा विभिन्न प्रकारका मुद्दा अन्तर्गत दुनियावादी देवानी मुद्दा ७९४०, दुनियावादी फौजदारी मुद्दा ७५५१, सरकारवादी फौजदारी मुद्दा २७५०, पुनरावेदन मुद्दा ८३ र रिट (बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञा) मुद्दा ३३७ गरी १८ हजार ७ सय ४ मुद्दामध्ये ११ हजार ३ सय २६ मुद्दा सोही आर्थिक वर्षमा फछर्यौट भएको जिल्ला अदालत काठमाडौले जानकारी दिएको छ ।
गत आर्थिक वर्ष फैसला हुन नसकी बाँकी रहेका ७ हजार ३ सय ८७ मुद्दा चालु आर्थिक वर्षमा ल्याइएको हो । चालु आर्थिक वर्षको साउन १ देखि भाद्र १९ गतेसम्म भने विभिन्न किसिमका २ हजार ९५ मुद्दा दर्ता भएका छन् ।
हाल जिल्ला अदालत काठमाडौमा चालु आर्थिक वर्षको भाद्र १९ गतेसम्मको तथ्यांक अनुसार ९ हजार ४ सय ७३ मुद्दा रहेकोमध्ये १ हजार ६५ मुद्दा फछर्यौट समेत भइसकेको जिल्ला अदालत काठमाडौले जानकारी दिएको छ ।
विगत ५ वर्षको तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्ष २०६९-०७० मा १५ हजार ७ सय ८८ मुद्दा रहेका मध्ये ९ हजार ३ सय ३६ मुद्दा फछर्यौट भएका थिए भने ६ हजार ४ सय ५२ मुद्दा बाँकी रहेका थिए । त्यसै गरी आर्थिक वर्ष २०७०-०७१ मा १६ हजार ९ सय ४७ मुद्दा रहेकोमध्ये १० हजार १ सय ७३ मुद्दा फछर्यौट भएको थियो भने ६ हजार ७ सय ७४ मुद्दा बाँकी रहेका थिए ।
त्यसै गरी आर्थिक वर्ष २०७१-०७२ मा १७ हजार ४ सय ६८ मुद्दा रहेकोमध्ये ११ हजार १ सय ८२ मुद्दा फछर्यौट भएको थियो भने ६ हजार २ सय ८६ मुद्दा बाँकी रहेका थिए । त्यसै गरी आर्थिक वर्ष २०७२-०७३ मा १९ हजार ३ सय ८६ मुद्दा रहेकोमध्ये १२ हजार ८ सय ३५ मुद्दा फछर्यौट भएका थिए भने ६ हजार ५ सय ५१ मुद्दा बाँकी रहेका थिए ।































प्रतिक्रिया