भक्तपुर, १७ भदौ
अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरले ७५ जिल्लालाई पूर्णसाक्षर जिल्ला बनाउने घोषणा गरे पनि अधुरो भएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक चूडामणि पौडेलले हालसम्म देशभरका ३८ जिल्ला मात्रै पूर्णसाक्षर जिल्ला घोषणा भएको बताए । जिल्लामा ९५ प्रतिशत नागरिक साक्षर भएपछि पूर्ण साक्षर जिल्ला घोषणा हुने प्रावधान छ । अझै ३७ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी छ । निर्देशक पौडेलले भने, “निर्वाचन आचारसंहिता लागू भएका कारण पूर्ण साक्षर घोषणा हुन तयारी अवस्थामा रहेका खोटाङ, डडेल्धुरा, पर्वत, म्याग्दी, संखुवासभा, सुनसरी र तेह्रथुम जिल्ला घोषणा हुन सकेका छैनन् ।” निर्वाचन सकिएपछि यस वर्ष बाँकी जिल्लालाई पूर्ण साक्षर घोषणा गरिने उनले बताए ।
यसैबीच केन्द्रले यस वर्ष साताव्यापी रुपमा ३८औँ राष्ट्रिय शिक्षा दिवस र ५१ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने भएको छ । पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक चूडामणि पौडेलले आइतबारदेखि दिवस मनाइने जानकारी दिए । केन्द्रले ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने मूल नारासहित राष्ट्रिय शिक्षा दिवस र प्रविधि युगसापेक्ष साक्षरता भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने भएको हो । कार्यक्रम अनुसार भदौ १८ गते केन्द्रमा वृक्षरोपण, गुण्डु र काठमाडौँको नांलेभारेस्थित पटापमा सडक नाटक प्रदर्शन गरिने भएको छ । त्यस्तै साक्षरता सम्बन्धी लोकदोहोरी प्रतियोगिता, साक्षर भएपछिको परिवर्तन शीर्षकमा वृत्तचित्र प्रदर्शन गरिने निर्देशक पौडेलले जानकारी दिए । त्यसैगरी भदौ २३ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा जनचेतनामूलक कक्षा राखेर साक्षरता दिवस मनाइने छ । रासस





























प्रतिक्रिया