रुपन्देही, १७, भदौ
नयाँशक्ति पार्टी नेपालले ५ नंं प्रदेश स्तरीय प्रशिक्षण र वैठक बुटवलमा सम्पन्न गरेको छ ।
दुई दिन सम्म चलेको वैठक र प्रशिक्षणमा बोल्दै नेताहरुले सुशासन, विकास र समृद्धि सहित ‘पाँच स’ नयाँशक्तिका बलियो पक्ष भएको भन्दै ‘पाँच स’लाई जनता माझ लैजान सके चुनावमा सफलता मिल्ने बताए । उनीहरुले कुनै पनि दलले एक दुई वर्षमै चुनावी सफलता हासिल गर्न कठिन हुने भन्दै कांग्रेस, एमाले र माओवादी केन्द्र पनि वर्षौं लामो मेहनत पछि मात्र ठूला दलका रुपमा स्थापित भएको बताए ।
त्यस अवसरमा प्रशिक्षण विभाग प्रमुख डम्बर खतिबडाले संविधानसभाबाट संविधान बनिसकेपछि आर्थिक समृद्धिको युग शुरु भएको तर्क गर्दै यो एजेण्डा उठाउने पार्टी नयाँशक्ति नै भएको बताए । कुनै वाद वा विचार एकपटक अंगालेपछि सधैं त्यसैमा टाँसिएर बस्नु वैज्ञानिक र समय सापेक्ष नहुने भन्दै उनले नयाँशक्तिले लिएको ‘पाँच स’ को विचार र सिद्धान्त नै अहिलेको माग भएको बताए । खासगरी माओवादी केन्द्रबाट आएर पार्टी छाडेकाहरुले नयाँशक्तिसँग विचार छैन भन्ने आरोप लगाइरहेको प्रसंग उल्लेख गर्दै खतिवडाले यो उनीहरुको पुरानो सोचको उपज मात्रै भएको टिप्पणी गरे । ‘हामीले कुनै एउटा विचार र काम मात्र बोकेका छैनौं, जसरी अरु पार्टीले बोकेका छन्’–नेता खतिबडाले भने–‘अरु पार्टीहरु कुनै रेडियो, कुनै क्यालकुलेटर, कुनै घडि, कुनै टेप रेकर्डर जस्तै निश्चित एउटा काम वा विशेषता बोकेका हुन् तर नयाँशक्ति रेडियो, क्यालकुलेटर,घडि,टेप रेकर्डरको सबै काम एउटैले दिनसक्ने कम्प्युटर जस्तै हो । ’ उनले एमाले र माओवादी नाममा कम्युनिष्ट तर ब्यवहारमा ठीक उल्टो राष्ट्रिय ढुकुटी दोहन गर्ने र लुट्ने शोषक मात्रै भएको टिप्पणी गरे ।
हिमालय टाइम्सबाट





























प्रतिक्रिया