बाढीप्रभावित क्षेत्रमा पानी शुद्धीकरण अभियानलाई निरन्तरता

बाढीप्रभावित क्षेत्रमा पानी शुद्धीकरण अभियानलाई निरन्तरता

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । बर्दिया, १६ भदौ ।

गत महिना आएको भिषण बाढीबाट जिल्लाका प्रभावित क्षेत्रमा पानी शुद्वीकरण अभियान संचालन गरिएको छ । अहिले पानीबाट लाग्ने रोग लाग्न नदिनका लागि प्रभावित क्षेत्रमा जिल्लाका सरकारी तथ गैरसरकारी निकायले यो अभियान संचालन गरेका छन् ।

पानीबाट देखिएका प्रभाव न्यूनीकरण गर्न महिला स्वास्थ्य स्वयमसेविका तथा कार्यालयका कर्मचारीमार्फत पानी शुद्धीकरण तथा स्यालोटयुब डिस्इन्फेक्शन कार्यलाई बाढी प्रभावित क्षेत्रमा निरन्तरता दिइएको जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन बर्दियाका प्रमुख दिलीप कुमारले बताए । उनले यही ४-५ दिनभित्र नै जिल्लाका बाढीप्रभावित सबै गाउँ तथा टोलहरूमा पानी शुद्धीकरण अभियान पुगिसक्ने विश्वास व्यक्त गरे ।

युनिसेफ नेपाल तथा अन्य गैरसरकारी संघ–संस्थाहरूको सहयोगमा जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभीजन कार्यालयले अहिले विशेष गरी गुलरिया र बार बर्दिया नगरपालिकाका बाढीप्रभावित गाउँ, टोल तथा बस्तीहरूमा खानेपानी शुद्धीकरणका लागि सचेतना र औषधी वितरण अभियान सँगसँगै संचालन गरिरहेको छ ।

अहिले सो क्षेत्रमा एक्वा टेबलेट तथा पियुसको प्रयोगबारे स्वयमसेविकामार्फत र स्यालो टयुब डिस्इन्फेक्सनका लागि ब्लीचिङ पाउडर छर्ने तरिकाबारे कार्यालयका कर्मचारीहरूमार्फत पानी शुद्धीकरण विधिबारे सचेतना अभियान द्रुत गतिमा अघि बढेको छ ।

कार्यालयले युनिसेफको सहयोगमा बार बर्दिया र गुलरिया नगरपालिकाका ८० जना स्वयमसेविकालाई पानी शुद्धीकरण सम्बन्धी तालिम प्रदान गरेर ४ हजार पियुसको बोटलसमेत दिई प्रभावित क्षेत्रहरूमा परिचालन गरेको छ । स्वयमसेविकाहरूले सचेतना कार्यक्रम गरी पानी शुद्धीकरण गर्ने औषधीसमेत वितरण गर्दै आइरहेका छन् ।

Logo