केन्द्रबिन्दु डेस्क । काठमाडौं, १५ भदौ ।
पर्व पनि कस्ता कस्ता ! सुन्नु भएको छ कहिल्यै सयौं होइन, हजारौं मानिस एक ठाउँ भेला भएर एक अर्कामाथि टमाटर हानाहान गर्ने पर्व ? हजुर, युरोपेली मुलुक स्पेनमा यस्तो हुँदो रहेछ । यो वार्षिक रूपमै मनाइने गरिँदो रहेछ ।
भ्यालेन्सिया सहरभन्दा ५० किलोमिटर पश्चिममा रहेको सानो बुनोल सहरमा (प्लाजा लायाना चोकमा) प्रत्येक वर्ष अगष्ट महिनाको अन्तिम बुधबार ला टोम्याटिना नामक गोलभेंडा युद्ध पर्व मनाइन्छ । स्पेनमा यसपटक हिजो बुधबार ‘वार्षिक गोलभेंडा हानाहान गर्ने पर्व’ सम्पन्न भएको छ ।

यसपटकको पर्वमा १ सय ६५ टन पाकेका गोलभेंडा एक आपसमा फ्याँकिएको थियो । यस पर्वमा यो वर्ष करिब २२ हजार मानिस सहभागी भएका थिए ।
रमाइलो के भने यसरी एकअर्कामाथि टमाटर हानाहान गर्ने यस पर्वमा सहभागी हुनका लागि बुनोल सहरका बासिन्दा मात्र होइन, स्पेनकै विभिन्न इलाकाबाट मानिसहरू त्यहाँ पुग्ने गर्छन् । विदेशी पर्यटकहरू पनि हजारौंको संख्यामा आउने गर्छन् । यस वर्ष सहभागीमध्ये१७ हजार त पर्यटक नै थिए ।
यस वर्षको टामाटिनो पर्वका लागि लागि भनेर सरकारले नै टमाटरको व्यवस्था गरेको थियो । समग्रमा ६ वटा ठूला ट्रकमा ३६ हजार युरो खर्चेर गोलभेंडा खरिद गरिएको थियो ।
त्यसरी हजारौंले एकअर्कामाथि पाकेका टमाटर हानाहान गरेपछि पर्व–स्थल र वरिपरि सबै क्षेत्र र मानिसहरू राताम्मे भएका थिए ।
यो पर्व एकदेखि दुई घन्टा मात्र हुने गर्छ । (एपीको रिपोर्टमा आधारित)





























प्रतिक्रिया