कपिलवस्तु, १५ भदौ
जिल्लाको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीको चाप बढेको छ ।
नेपाली सेनाको नारायणदल गणको प्राविधिक र बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस उपचार केन्द्रमा भदौ दोस्रो साता आइपुग्दा समेत सर्पले डसेका बिरामीको चाप अझै उस्तै छ । यस उपचार केन्द्रमा असारदेखि भदौ १४ गते सम्म ४ सय जना सर्पले डसेका बिरामीको उपचार गरिएको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेका सचिव नवीन भण्डारीले जानकारी दिएका छन् ।
जिल्लाका ३०१, दाङका १५, रोल्पाका २०, अर्घाखाँचीका ३५, प्युठानका १५, र रुपन्देहीका १४ जना सर्पले डसेका बिरामीको उपचार गरिएको सचिव भण्डारीले बताए । अहिले पनि दैनिक १० भन्दा बढी बिरामी आउने गरेको यस उपचार केन्द्रमा असार महिनामा मात्र ११५ जना भन्दा बढी बिरामीको उपचार गरिएको थियो । समयमै उपचार नपाउँदा अहिलेसम्म दुईजनाको मृत्यु भएको छ । विषालु सर्पले डसेका बिरामीको संख्यामा भने कमी आएको बताइएको छ । अरु बिरामीको तुलनामा महिला बिरामी बढी आउने गरेको भण्डारीले जानकारी दिए । सर्पले डस्ने बित्तिकै झारफुक गर्ने, डसेको ठाउँमा बिलेटले चिर्ने लगायतका कार्य नगरी तुरुन्त अस्पताल आउन उनले आग्रह गरेका छन् । दश वर्षअघि स्थापना भएको यो उपचार केन्द्रलाई जिल्लाकै उत्कृष्ट केन्द्रका रुपमा लिने गरिएको छ । रासस





























प्रतिक्रिया