काठमाडौं, १५ भदौ
करिव २ दशक देखि चर्चामा रहेको बहुचर्चित मेलम्ची खानेपानी आयोजना आगामी पुस मसान्त सम्ममा पनि सम्पन्न नहुने सम्भावना बढ्दै गएको छ ।
निर्धारित लक्ष्य अनुसार सुरुङ निर्माण कार्य सम्पन्न हुन नसकेपछि दसैंअगावै मेलम्चीको पानी खान पाउने आशमा बसेका काठमाडौं उपत्यकावासीले पुस सम्म पनि पानी खान नपाउने आशंका बढेको हो । एकपछि अर्को बाहानामा मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यलाई लक्ष्यअनुसार तीव्रताका साथ अगाडि बढाउन नसक्दा उपत्यकावासीको स्वच्छ पानी पिउने सपना फेरि केही महिना पछि धकेलिने अवस्था आएको हो । आयोजनाका अनुसार पछिल्लो समयमा दैनिक ११ मिटर मात्रै सुरुङ खनिने गरेको छ । करिव २ हजार मिटर सुरुङ खन्न अझै बाँकी छ । अहिलेकै गतिमा सुरुङ खन्दा अझै चार महिना समय लाग्ने देखिन्छ ।
आयोजनाका सहायक निर्देशक रामचन्द्र देवकोटाले सुरुङ खन्ने काममा केही ढिलाइ भएको स्वीकार गरे । अप्ठ्यारो किसिमका चट्टानका कारण लक्ष्यअनुसार सुरुङको काम हुन नसकेको उनको तर्क छ । आगामी पुस भित्रमा पानी वितरण गरिसक्ने योजनाका साथ दैनिक २५ मिटर सुरुङ खन्ने कार्ययोजना बनेको थियो । लक्षित कार्ययोजनाको आधा मात्रै काम भएपछि समयमा कार्यसम्पन्न हुन कठिन छ । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले दैनिक ११ मिटर सुरुङ खनेर निर्धारित समयमा मेलम्चीको पानी काठमाडौं नआउने बताए । सामूहिक प्रण र प्रतिबद्धताका साथ काम गरेर जतिसक्दो छिटो आयोजनाको निर्माण कार्य सक्नुपर्ने सचिव सुवेदीको भनाइ छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची नदी मुहानबाट काठमाडौंको सुन्दरीजल सम्म २७ किलोमिटर लामो सुरुङ निर्माण गरी १७ करोड लिटर पानी उपत्यका ल्याउने आयोजनाको लक्ष्य छ ।
राजधानीबाट





























प्रतिक्रिया