मृतकका परिवारलाई नगद, बाढीपीडितलाई रु २१ लाख राहत वितरण

मृतकका परिवारलाई नगद, बाढीपीडितलाई रु २१ लाख राहत वितरण

केन्द्रबिन्दु
0
Shares

इटहरी, १४ भदौ ।

अबिरल वर्षाका कारण स्थानीय बूढीगंगा नदीमा साउनको अन्तिम साता आएको बाढीले बगाएर मृत फेला परेकामा आठ जनाका परिवारलाई जनही रु दुई लाखका दरले रु १६ लाख प्रदान गरिएको छ ।

बाढीमा परेर मृत फेला परेका १२ जनामध्ये दुई जनाको सनाखत हुन नसकेकोे र अन्य दुई जनाका आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरुले प्राप्त गर्ने राहत रकम उपलब्ध हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

यसैगरी सरकारका तर्फबाट बाढीबाट घरबारविहीन बन्न पुगेका तीन हजार परिवार तथा विस्थापित भएका २० हजार घरपरिवारलाई आपत्कालीन राहतबापत चामल–च्युरा–नून–तेल–चाउचाउ लगायतका सामग्री पनि वितरण गरिएको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

हङकङ बसोबास गर्ने इटहरीको तरहराबासीले तरहरा हङकङ मञ्चका तर्फबाट आठ जनाका परिवारलाई जनही रु ४० हजारका दरले रु तीन लाख दुई हजार नगद सहयोग उपलब्ध गराइएको गरेको मञ्चका संयोजक नवीन गुरुङले जानकारी दिए । 

दाङमा बाढीपीडितलाई रु एक्काइस लाख राहत वितरण

यसैगरी दाङका बाढीपीडितलाई राहत वितरण शुरु गरिएको छ । घर पूर्णरुपमा घर भत्किएकालाई रु प्रतिघर १० हजार र विस्थापित परिवारमा प्रतिव्यक्ति रु दुई हजार १०० का दरले १०९ घरपरिवारलाई पहिलो दिन रु २१ लाख ४२ हजार १०० वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, राजपुर गाउँपालिकामा १६वटा घर ७३ जनालाई तीन लाख १३ हजार ३००, लमही नगरपालिकामा २३ घर र १०३ जनालाई रु चार लाख ४६ हजार ३००, दंगिशरण गाउँपालिकामा ३३ घर र १५६ जनालाई रु ६ लाख ५७ हजार ६०० वितरण गरिएको छ ।

यसैगरी बबई गाउँपालिकामा ३७ घर र १६९ जनालाई रु सात लाख २४ हजार ९०० बाँडिएको छ । बाढी र डुबानबाट पीडित बनेकालाई सरकारले रु ४० लाख राहत रकम पठाएको थियो । जिल्लामा अहिलेसम्म सात जनाको मृत्यु र २९३ घर पूर्णरुपमा भत्किएकाले एक हजार ८२ जना विस्थापित भएका छन् । रासस

Logo