धादिङ, १४ भदौ
त्रिशूली नदीमा अवैधानिक रुपमा स्काभेटरको प्रयोग गरेर भइरहेको उत्खनन र विभिन्न स्थानमा संचालन गरिएको अबैधानिक खानीका कारण राजमार्ग दिनदिनै बिग्रँदै गएको छ ।
भारत र चीनको तिब्बत जोड्ने छोटो मार्गका रुपमा रहेको पृथ्वीराजमार्गको धादिङखण्डमा पर्ने जोगीमारा नौबिसे र त्रिभुवन राजपथमा पर्ने नौबिसे काठमाडौँ खण्ड क्षतविक्षत भएको हो । ६ महिना अघि मात्र मर्मत गरिएको राजमार्गको सो क्षेत्र नदी तथा खानी उत्खननपछि चिसो बालुवा र पानीका कारण सडक बिग्रिएर हरेक दिन राजमार्गमा समस्या आउने गरेको छ । नदी तथा खानी उत्खननबाट निकालिएको बालुवा गिटीले गर्दा सडक छिटो छिटो भत्किएको छ । सडक छेउमा संचालित बालुवा प्रशोधन तथा सडकमाथि खनिएका खानीका कारण राजमार्ग दिनदिनै बन्द हुने गरेकाले खानी उत्खनन गर्दा भएको समस्या समाधान गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने गल्छी गाउँपालिकाका सामाजिक कार्यकर्ता नरेश खतिवडाले बताए ।
सडक भत्किएर र सडक माथिबाट आएको भलबाढीले गर्दा हरेक दिन सवारी आवागमन बन्द हुन्छ । जसले गर्दा सर्वसाधारण मर्कामा पर्ने गरेका छन् । गल्छी गाउँपालिकाका बैरेनी र बेल्खु, गजुरी गाउँपालिकाका घाटबेंसी र बेनीघाट तथा रोराङ गाउँपालिकाका मलेखु, मझिमटार लगायत क्षेत्रमा सडक बिग्रेको छ । बैरेनी र जोगीमारामा सडक माथिबाट पहिरो आउन थालेको छ । पहिराका कारण केही सवारी साधन समेत पुरिएको थियो । अन्य क्षेत्रमा हरेक दिन साना ठूला दुर्घटना हुने गरेकाले नियमनका लागि गाउँपालिका समेत लागि परेको गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुङ्गानाको भनाई छ ।
नेपालका ६७ जिल्लाबाट आवतजावत गर्ने र तराईसँंग काठमाडौँ जोड्ने सामरिक महत्वको राजमार्ग किनारमै खानी संचालन गर्ने गर्दा उच्च जोखिम बढेको छ । सडकको निर्माण र मर्मतको जिम्मा पाएको सडक विभागले गरेको बेवास्ता र लापरवाहीका कारण अत्यन्त ब्यस्त राजमार्गको अवस्था दयनीय बनेको हो । जिल्ला अनुगमन समितिले राजमार्ग क्षेत्रमा अनुगमन गरी अवैधानिक तरिकाले उत्खनन भएका अवस्थामा नदी किनारमा रहेका १३ स्काभेटरको अनुगमन गरिएकामा सात वटालाई २५ हजारका दरले जरिवाना गराइएको सहायक प्रजिअ लीलाधर अधिकारीले बताए । कुनै पनि स्काभेटरले नदीबाट उत्खनन गर्न नपाइने कानूनी व्यवस्था भएकाले नदीबाट उत्खनन गरिरहेको अवस्थामा फेला पारिएका स्काभेटरलाई कारबाही गरिएको अधिकारीले स्पष्ट पारेका छन् । रासस





























प्रतिक्रिया