काठमाडौँ १४, भदौ
प्रदेश नं. २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी छनोट गर्न प्रमुख दल सक्रिय छन् । प्रमुख दलसहित मधेस केन्द्रित दलले एक÷दुई दिनभित्रै उम्मेदवारी टुंग्याउने बताएका छन् । दुई नम्बर प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसले उम्मेदवार टुंगो लगाए पनि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । शनिबारदेखि २ नम्बर प्रदेशका नेतासँग लगातार छलफल गरेको कांग्रेस महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिसहितका नेताले उम्मेदवार टुंगो लगाएका हुन् ।
त्यस्तै जनकपुरमा मंगलबार बसेको माओवादी केन्द्र केन्द्र्रीय सचिवालय सदस्यको बैठकले १५ भदौभित्र उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ । उम्मेदवार छनोट, चुनावमा सहकार्य लगायत विषयमा छलफल गर्न माओवादी केन्द्रको सचिवालयको बैठक जनकपुरमा बसेको थियो ।
यसैगरि एमालेले ९० प्रतिशत उम्मेदवार छनोट गरिसकेको छ । एमालेले ५९ वटा गाउँपालिकाको उम्मेदवार टुंग्याइसकेको छ भने ७३ नगरपालिकाको उम्मेदवार घोषणा हुन बाँकी रहेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए । अब उम्मेदवार छनोटको काम १० प्रतिशत मात्रै बाँकी रहेको ज्ञवालीले बताए ।
दुई चरणको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई उम्मेदवार टुंगो लगाउन सकस भएको छ । उम्मेदवारका आकांक्षी धेरै देखिएपछि राजपालाई उम्मेदवार छान्न सकस भएको नेताहरुले बताएका छन् ।
निर्वाचन आयोगले २१ भदौमा उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, भदौ २४ मा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया