काठमाडौं, १३ भदौ
काठमाडौँ जिल्ला अदालतमा हुण्डी कारोवार गर्ने सात जनाविरुद्ध चार अर्ब १४ करोडको बिगो दावी सहित मुद्दा दायर गरिएको छ ।
राजश्व अनुसन्धान विभागले सो राशिको बिगो सहित दलबहादुर पुन, लवकुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङ विरुद्ध मुद्दा दायर गरेको विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिए । डेढ वर्षअघि काठमाडौँ प्रहरीले सुनधाराको जेबो ट्राभल्समा छापा मारी १२ लाख विदेश पठाउन लागिएको हुण्डी रकम जफत गरेको थियो । हुण्डी सहित कम्पनीबाट कामदार पुन र नेपाललाई पक्राउ गरिएको थियो ।
सो ट्राभल्सका मालिक मिलन र धरमले विदेशमा बसेर हुण्डी कारोवार गर्ने गरेका थिए । अहिले पनि उनीहरु फरार छन् । प्रहरीले छापा मार्दा ट्राभल्सबाट राजेन्द्र र विद्यादेवीका नाममा काटिएको ५० लाखको चेकसमेत जफत गरेको थियो । विभागले ट्राभल्सको तथ्यांक राख्ने कम्प्युटर जफत गरेर अध्ययन गर्दा साढे चार महिनाको तथ्यांकमा चार करोडको हुण्डी रकम देखिएको थियो । रासस





























प्रतिक्रिया