हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्रबाट पार्टी विभाजन भयोः थापा

हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्रबाट पार्टी विभाजन भयोः थापा

केन्द्रबिन्दु
0
Shares

 

काठमाडौँ, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप लगाएका छन् ।

पार्टीले आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले तत्कालीन राप्रपा नेपाल तथा राप्रपाबीच भएको एकीकरणपछि मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माण हुन लागेकामा त्यसलाई अवरोध गर्ने उद्देश्यबाट पार्टीका केही नेतालाई साथ लिएर विभाजन गराइएको विचार व्यक्त गरे ।

नेपालमा आफ्नो अनुकूल गठबन्धन बनाएर विभिन्न प्रभावमा राख्न चाहने शक्ति अहिले सक्रिय रहेको बताउँदै उनले भने, “पार्टी विभाजनका लागि केन्द्रीय सदस्य तथा संसदीय दलको न्यूनतम ४० प्रतिशत आवश्यक हुन्छ तर आफ्नो दलमा त्यो नियम लागू हुन सकेन ।”

अध्यक्ष थापाले ‘निर्वाचन आयोगले दल विभाजनका लागि गरेको निर्णय त्रुटिपूर्ण रहेकाले न्याय प्राप्त गर्न आफूहरुले अदालतमा रिट दर्ता गराएको प्रष्ट पारे। उनले ‘प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा विनाप्रसंग संविधान संशोधनको विषयमा अभिव्यक्ति दिएकाले’ मुलुकको स्वाभिमानमा धक्का लागेको बताए ।

राप्रपा विभाजनको विषय सदनमा

व्यवस्थापिका–संसद्को सोमवारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजनको विषयले प्रवेश पायो ।

संसद्को आजको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै राप्रपाका सांसद दिलनाथ गिरीले आफ्नो पार्टीको विभाजन योजनाबद्ध तवरले गरिएको आरोप लगाए ।

सत्तारुढ दलकै प्रयासमा राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गरिएको आरोप लगाउँदै उनले नयाँ दल दर्ताका लागि संसद् र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउनुपर्नेमा त्यसो नगरिएको र हचुवाको भरमा निर्वाचन आयोगले समेत दल दर्ता गरिदिएको बताए ।

उनले आफ्नो धारणा राखिरहँदा नयाँ दल दर्ता गराएका राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०का सांसदहरुले नियमापत्ति गरेका थिए ।

एक फरक प्रसंगमा सांसद गिरीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा अमर्यादित गतिविधि भएको भन्दै आपत्ति समेत जनाए । रासस

Logo