काठमाडौं ।
नव वर्ष नेपाल संवत् ११४१ देशभर विविध कार्यक्रम गरी मनाउन रमेश महर्जनका अध्यक्षतामा ‘नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१’ गठन गरिएको छ ।
नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत् ११४१ मनाउन समारोह समिति गठनका लागि भेला बोलाउने अवस्था कोरोना महामारीको कारण नरहेका सन्दर्भमा समारोह समिति ११४० का अध्यक्ष तथा अन्य प्रतिनिधिलाई निरन्तरता दिँदै यस पटक समारोह समिति गठन गरिएको हो ।
नेपाल संवत् ११४१ का वार्षिक कार्यक्रम तथा समारोह मनाउन समितिका सल्लाहकार, नेवार अगुवाको सल्लाह बमोजिम समारोह समितिको नेसं ११४० कौलाथ्व द्वादशी (कात्तिक) १२ गते) बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
पुनःगठित समितिका अध्यक्ष महर्जनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ , “यस समितिमा समाविष्ट सम्बन्धित सङ्घसंस्थाले आआफ्ना प्रतिनिधि हेरफेर गर्न सक्ने तथा गत वर्ष समाविष्ट नरहेका सङ्घसंस्थाले यस वर्षका लागि प्रतिनिधि पठाउन सक्ने बैठकबाट निर्णय भएको जानकारी गराउँदछु । कोरोना महामारी यथावत् रहेको अवस्थामा नेपाल संवत् ११४१ को नव वर्षको समारोह कसरी मनाउने भन्ने सन्दर्भमा नेपाल संवत् आन्दोलनका अगुवा तथा सङ्घसंस्थाहरुसँग छलफल गरी चाँडै निर्णय लिइने छ ।”
नेपाल संवतको नववर्षलाई उत्सव मात्र नभएर सांस्कृतिक जागरण अभियानका रुपमा नेवार समुदायले मनाउँदै आएको छ । नेपाल संवत् आन्दोलनका प्रवर्तक दिवङ्गत पद्मरत्न तुलाधरलाई सम्झँदै उनले देखाएको सांस्कृतिक एकता र राष्ट्रियता प्राप्तिका मार्गमा लाग्ने सङ्कल्प गर्ने दिनका रुपमा लिन पनि समितिले आह्वान गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “देशका जनताका ऋणमोचनपछि नेपाल देशकै नाममा संवत् स्थापना गर्ने शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्न तथा नेपाल संवतलाई नेपालको राष्ट्रिय संवत् घोषणा गराउन नेपाल संवतको आन्दोलनले सफलता प्राप्त गरिसकेको छ । यद्यपि सरकारी कामकाजमा नेपाल संवतलाई प्रयोगमा ल्याउने, नेपाली राष्ट्रियता सुहाउँदो संवत्का सम्बन्धमा आवश्यक नीति बनाउन सरकारलाई बाध्य पार्ने, देशका सम्पूर्ण जनजातिका सांस्कृतिक चाडपर्वलाई समानताका आधारमा सरकारी व्यवहार गराउने कार्यका लागि अझै यस आन्दोलनको आवश्यकता रहेको छ ।” समारोह समितिले देशैभरि एउटै नारा र एउटै अभियान अनुसार नेपाल संवतको नववर्ष मनाउन पहल भइरहेको पनि जनाएको छ ।































प्रतिक्रिया