नेपालगन्ज, ५ भदौ
एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
राप्ती नदीमा आएको पानीको भेल गाउँमा पसेपछि विद्यालय समेत डुबानमा परेकाले विद्यार्थीको पढाइ प्रभावित भएको हो । सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाका अनुसार, बाढीका कारण जिल्लाका ८१ विद्यालय खुल्न सकेका छैनन् । ती विद्यालय मध्ये २९ विद्यालयमा बाढीपीडित परिवारका सदस्यले आश्रय लिइरहेका छन् । विद्यालयको कक्षाकोठामा पसेको पानी सुकिनसकेको र केही विद्यालयमा राहत शिविर सञ्चालन भइरहेकाले एक सातापछि मात्र विद्यालय सञ्चालनमा आउने सम्भावना रहेको जनाइएको छ ।
विद्यालय सञ्चालनमा नआउँदा करिब १५ हजार विद्यार्थीको पढाई प्रभावित भएको छ भने बाढीका कारण विद्यालयमा भएका पाठ्यसामग्री समेत नष्ट भएको छ । त्यस्तै विद्यार्थीका पाठ्यपुस्तक पनि बाढीसँगै बगेपछि उनीहरुले घरमा समेत अध्ययन गर्न पाएका छैनन् । सहायक जिशिअ थापाले विद्यालयमा नष्ट भएका पाठ्यसामग्री खरिद गर्न रु ५० हजार विनियोजन गरिएको बताए । रासस





























प्रतिक्रिया