“यतिहुँदा मात्र थारुका मुद्धा सकिन्छन्”

“यतिहुँदा मात्र थारुका मुद्धा सकिन्छन्”


नेपाल लोकतान्त्रिक थारु संघका महासचिव एवं एमाले केन्द्रीय सदस्य बलदेव चौधरी ‘थारु’ प्रखर बक्ता हुन् । इमान्दार छवी वनाएका यी उदयपुरे नेता थारु कल्याणकारिणी सभाका सल्लाहकार समेत हुन् । प्रस्तुत छ, वकालत पेशामा समेत संलग्न उनै चौधरीसँग केन्द्रबिन्दु विशेष संवाददाताको छोटो जम्काभेट ।

 

देशभरीका थारुहरु आन्दोलनको मुडमा छन्, तपाई चाहिं के कुरामा ब्यस्त हुनुहुन्छ ?
–आन्दोलनका स्वरुपहरु विभिन्न हुनसक्छन् । म पनि थारु आन्दोलनमा नै छु । थारु, आदिवासी–जनजाती, दलित, मधेसी, मुसलमान, पिछडिएको वर्ग लगायत सम्पूर्णको अधिकार सुनिश्चित हुनुपर्छ भनेर हामीले पार्टीमा ज्ञापन पत्र बुझाएका छौं । थारु आन्दोलनप्रति पार्टीलाई नरम हुन, एक्यबद्धता जनाउन र उनीहरुका माग संबोधन गर्न विभिन्नखाले सक्रियता र प्रयास जारी छ ।

थारु आन्दोलन त विगतमा हिंसात्मक पनि भयो ? तपाईंको यसमा समर्थन छ ?
– शान्तिपूर्ण आन्दोलनलाई मेरो समर्थन छ । किनभने थारुका माग जायज छन् । जहाँसम्म हिंसात्मक आन्दोलनको कुरा छ, त्यो सही भएन । थारुहरुको आन्दोलनलाई बदनाम गराउन गरिएको सुनियोजित षड्यन्त्रको रुपमा मैले त्यसलाई बुझेको छु । कैलाली घटनामा समग्र थारुहरुलाई बदनाम गर्न खोजियो ।

थारु आन्दोलनको स्वरुप चाहिं कस्तो छ ?
यो आन्दोलनलाई देशभरीका थारुको समर्थन छ । तर, मेरो विचारमा बन्दको बिकल्प खोज्नु पर्छ । अशान्ति र हिंसा थारुहरुको चाहाना होइन र स्वभाव पनि होइन । त्यसकारण थारु आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ । 

थारु आन्दोलनले नेपालीवीचको सद्भाव बिथोल्दैछ भन्ने लाग्दैन ?
– कुनैपनि आन्दोलनले नेपाली सद्भाव बिथोल्नु हुन्न । थारु र पहाडे भनेर विभेदको रेखा कोर्नु हुन्न । कुनै शक्तिले यस्तो हर्कत प्रदर्शन गरिरहेको छ भने पनि हामी वेलैमा सतर्क हुनुपर्छ । जुनसुकै आन्दोलनको उद्धेश्यपनि नेपाली जनतालाई सार्वभौसत्ता सम्पन्न वनाउनेमा केन्द्रीत हुनुपर्छ । 

थारु आन्दोलका सवालमा तपाईंलाई पार्टीको निर्देशन चाहिं के छ ?
– हाम्रो पार्टी थारुहरुको आन्दोलनप्रति सकारात्मक छ । वार्ता मार्फत सवै विषय टुंग्यान सकिन्छ भन्ने कुरामा आशावादी पनि छ । संविधानका प्रक्रियाहरु अवरुद्ध भएको खण्डमा प्राप्त उपलब्धि समेत गुम्ने छ भन्ने कुरामा हामीलाई डर छ । त्यसकारण संवाद र सहमति आजको आवश्यकता हो । पार्टीको निर्देशन यही कुरामा केन्द्रीयत छ । 

थारुहरुलाई भिन्न राज्य दिंदा सीमांकन कसरी संभव छ ?
– थारुहरुले भिन्न राज्यभन्दा पनि पहिचान मागेका हुन् । पहिचान सकेर गरिने सीमांकन कसैलाई मान्य हुँदैन । ७ प्रदेशमा थारुहरुलाई ७ टुक्रा पारिएको छ । यो सच्याउनु पर्छ ।

तपाईको कुरा बुझिएन नि ?
– थारुहरुको ‘क्ल्स्टर क्लियर’ हुनुपर्छ भनेको हो । प्रदेश वनाउँदा पहिचान र सामथ्र्यका आधारमा वनाउनु पर्छ । विज्ञहरुले एउटा बैज्ञानिक मोडल तयार गर्नु पर्छ । कसैकोपनि पहिचान मेटिनेगरी प्रदेश वनाउनु हुन्न ।

 थारुहरु आन्दोलनलाइ सही नेतृत्व दिने नेता भएनन् भन्ने आरोप छ नि ?
– यो आरोपलाई थारु आन्दोलनले नै खण्डन गरिसकेका छ । हेराई हो, भिजन भएका नेता जतिपनि छन् ।

 अव कहाँ गएर ‘सेफल्याण्ड’ हुन्छ त थारुका मुद्धा ?
– थारुले मागेका जायज माग पुरा भएपछि मुद्धा सकिन्छ । विभेदपूर्ण नीति र ब्यवहार मेटिएपछि आन्दोलन रोकिन्छ । थारुका पहिचान र अधिकार स्थापित भएपछि कुनै पनि आन्दोलनको अर्थ रहन्न ।

खासमा थारुका माग चाहिं के हुन् ?
– समावेशी–समानुपातिक प्रणालीको ग्यारेण्टी, आयोग गठन र सीमांकनमा सुधार नै मुख्य माग हुन् ।

 

Logo