साउथ अभिनेत्री काजल अग्रवाल यसै महिना विवाह गर्दै

साउथ अभिनेत्री काजल अग्रवाल यसै महिना विवाह गर्दै


साउथ फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री काजल अग्रवाल यसै वर्ष (२०२०) बैबाहिक जीवनमा बाँधिने भएकी छन् । उनी स्वयंले मंगलवार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूले विजनेशम्यान गौतम किचलूसँग विवाह गर्न लागेको जानकारी दिएकी छन् । उनले विवाहको मिति पनि सार्वजनिक गरेकी छन् । उनका अनुसार, आउँदो ३० अक्टोबरका लागि विवाहको मिति तय गरिएको छ ।

कोरोनाका कारण विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यको मात्र उपस्थिति रहनेछ । विवाहको बारेमा जानकारी दिँदै उनले भनेकी छन्, ‘यो महामारीले हाम्रो खुसीलाई प्रभावित गरेको छ तर हामी आफ्नो जीवनलाई एकसाथ सुरु गर्नका लागि उत्साहित छौं । म विश्वस्त छु कि तपाईंहरु पनि खुसी हुनुहुन्छ ।’ काजललाई साउथकी सबैभन्दा सुन्दरी अभिनेत्री भन्ने गरिन्छ ।

उनी गएको १६ वर्षदेखि फिल्म अभिनयमा सक्रिय छिन् । ‘क्यों हो गया ना’ बाट अभिनय करिअर सुरु गरेकी उनले साउथसँगै बलिउड फिल्ममा पनि राम्रो पहिचान बनाएकी छन् । १९ जून १९८५ मा जन्मिएकी उनले साउथका अधिकांश ठूला अभिनेतासँँग काम गरिसकेकी छन् । सन् २००७ मा आएको फिल्म ‘लक्ष्मी कलयाणम’ को सफलताले उनको करिअर उत्कर्षमा पुगेको थियो ।

काजलको करिअरको सबैभन्दा ब्लकबस्टर फिल्म ‘मगधीरा’ हो । यो फिल्मको सफलताले उनलाई साउथ इन्डस्ट्रीमा सुपरस्टारको लाइनमा उभ्याएको थियो । कोरोना महामारीभन्दा अगाडि ‘इन्डियन २’ को छायांकनमा व्यस्त रहेकी उनी अजय देवगनसँग सन् २०११ मा फिल्म ‘सिंघम’ मा देखिएकी थिइन् । उनले जोन अब्राहमसँग हिन्दी फिल्म ‘मुम्बई सागा’ मा पनि काम गरेकी छन् ।

Logo