बागलुङमा ७ हजार ८ सयले गरे कोरोना बीमा

बागलुङमा ७ हजार ८ सयले गरे कोरोना बीमा


बागलुङ ।

बागलुङमा साढे सात हजारभन्दा बढीले कोरोना बीमा गरेका छन् । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बागलुङमा हालसम्म सात हजार ८८६ जनाले बीमा गरेका हुन् । ती मध्ये तीन जनाले मात्रै बीमा रकम दाबी गरेका छन् । बीमा रकम दाबी गरेका मध्ये दुई जनाले बीमा कम्पनीबाट भुक्तानी लिइसकेका छन् भने एक जना लिने प्रक्रियामा रहेको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार बागलुङमा हालसम्म ३ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । बीमा गरेका दुई जनाले आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमाबापत रु एक लाख रकम भुक्तानी लिएका छन् भने बागलुङ काठेखोलाको क्वारेन्टिन व्यवस्थापन र सुरक्षामा खटिएका सुरक्षाकर्मीले पनि बीमाबापतको रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको उनले बताए।

बीमा समितिले निर्जीवन बीमा कम्पनी र नेपाल पुर्नबीमा कम्पनीसँग समन्वय गर्दै २० वटा निर्जीवन बीमा कम्पनीलाई कोरोना बीमा गर्ने अनुमति प्रदान गरेको थियो । ती मध्ये बागलुङमा १३ वटा निर्जीवन बीमा कम्पनीले कोरोना बीमाको काम गरिरहेका छन् । हालसम्म सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चार हजार जनाको कोरोना बीमा गरेको छ । बीमा दाबी गर्ने तीनै जना बीमित पनि यही बीमा कम्पनीका हुन् ।

यस्तै एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २ हजार ८००, प्राइम इन्स्योरेन्सले ४०५, अजोध इन्स्योरेन्स बुर्तिवाङले २००, निको इन्स्योरेन्सले १५६, प्रभु इन्स्योरेन्सले ११८, शिखर इन्स्योरेन्सले ७०, सगरमाथा इन्स्योरेन्सले ५६, नेपाल इन्स्योरेन्सले ८८, लुम्बिनी जनरल इन्स्योरेन्सले १२, प्रुडेन्सियल इन्स्योरेन्सले ७७ र जनरल इन्स्योरेन्सले चार जनाको कोरोना बीमा गरेका छन् ।

Logo