नवलपरासीको गैंडाकोट नगरपालिका–१८ हुर्चिल बस्ने ४२ वर्षीय धन बहादुर सुगुरपाक मगरको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा उनकै श्रीमती ३८ वर्षीया फुलमाया सुगुरपाक र सोही ठाउँ बस्ने ४० वर्षीय मेख बहादुर सुनारी मगर रहेका छन्। २०७६ असार २० गते राति उनीहरु दुवै जना मिलेर धन बहादुरलाई हत्या गरी शव बेपत्ता बनाएको आरोप छ ।
१४ महिनाअघि ४० वर्षीय धनबहादुर बेपत्ता भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । धनमायाको मेखबहादुरसँगको सम्बन्धबारे गाउँलेले सूचना दिएपछि उनीहरूमाथि निगरानी बढाएको प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बयानमा फूलमायाले मेखबहादुरसँग मिलेर हत्या गरी शव गाडेको बताएकी छन् । सोही बयानका आधारमा प्रहरीले मंगलबार शव गाडेको स्थानमा खनेर अस्थिपञ्जर निकालेको छ । गैंडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार उक्त अस्थिपञ्जर डीएनए परीक्षणका लागि अहिले चितवन अस्पताल लगिएको छ । हत्यापछि शव घरदेखि एक किलोमिटर टाढा सुन्दरी सामुदायिक वनमा गाडिएको हो । धनबहादुर र फूलमायाका दुई छोराछोरी छन् ।
प्रहरीका अनुसार धनबहादुरले अवैध सम्बन्धबारे थाहा पाएपछि फूलमाया र मेखबहादुरले उनको हत्या गरेको अनुसन्धानले देखाएको छ । आफ्नै घरमा सुतीरहेका धन बहादुरलाई उनीहरुले हम्मरले संवेदनशील अंगमा प्रहार गरी घाँटीमा डोरीले बाधी हत्या गरेका थिए। त्यसपछि मेख बहादुरले शवलाई डोकोमा राखी सुन्दरी सामुदायिक वनमा लगि खाल्टो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया