संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज

संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज


संसारको सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज याङ्त्जे रिभर थ्री गर्जेज १ ले मंगलबार हुबेइको यिछाङमा आफ्नो पहिलो यात्रा गरेको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जहाजमा ठूलो ब्याट्री क्षमता छ ।

जहाज ७५०० किलोवाट आवर (केडब्लूएच) समुद्री शक्ति ब्याट्रीद्वारा संचालित छ । जुन एक सयभन्दा बढी विद्युतीय सवारी साधनको ब्याट्री क्षमता बराबर हो । जहाजले जनवरीमा परीक्षण यात्रा गरेको थियो र मध्यचीनको हुबेई प्रान्तको यिछाङमा रहेको आफ्नो गृह बन्दरगाहमा फर्किएको थियो ।

शून्य उत्सर्जन हाँसिल गर्ने जहाज थ्री गर्जेज ड्यामबाट उत्पादित स्वच्छ जलविद्युत्द्वारा संचालित छ । सरकारले स्वच्छ ऊर्जा र हरित यातायातमा जोड दिइरहेका बेला विद्युतीय जहाजको महत्व बढेको छ ।

जहाजलाई याङ्त्जे नदीमा दृश्य अवलोकनको भ्रमणमा प्रयोग गरिएको बताइएको छ । १०० मिटर लामो र १६ मिटर फराकिलो जहाजले १३०० यात्रु बोक्न सक्छ ।

उक्त विशाल जहाज चाइना थ्री गर्जेज कर्पोरेसन र हुबेई यिचाङ यातायात समूहअन्तर्गत याङ्त्जे पावर कम्पनीले निर्माण गरेको हो । एक पटकको चार्जमा जहाजले १०० किलोमिटर यात्रा गर्न सक्ने बताइएको छ ।

२ करोड ३५ लाख डलर लागतमा जहाज निर्माण भएको हो । शून्य प्रदूषण हुने यस जहाजबाट डिजेल इन्जिनको तुलनामा न्यून आवाज र भाइब्रेसन आउछ । 

Logo