काठमाडौं ।
काठमाडौं उपत्यकामा दिनदिनै कोरोना संक्रमणको दर बढ्दै गए पनि उपत्यका भित्रिने नाकाहरुमा चेकजाँच फितलो बन्दै गएको छ ।
४ महिना लामो लकडाउनको अन्त्य भएपछि जारी भएको निषेधाज्ञा २२ औं दिनपछि केही खुकुलो भएको छ । नाकाहरुमा पनि चेकजाँच फितलो बन्दै गएको छ । विगतभन्दा निषेधाज्ञापछि केही कडाई गरिएको चेकजाँच निषेधाज्ञा खुकुलो भएसँगै फितलो बन्दै गएको छ । प्रहरीले अहिले अत्यावश्यक मालबाहक सवारी मात्रै उपत्यका भित्रिन दिइरहेको छ । खाद्यान्न, तरकारी र फलफूल, दुध, दुग्धजन्य पदार्थ बोकेका सवारी र मासुजन्य सामग्री बोकेका सवारीहरु मात्रै भित्रिन दिए पनि चेकजाँच फितलो देखिएको छ ।
तर शनिबार नागढुंगा नाका भएर भित्रिने सवारीहरु प्रहरीले चेकजाँच गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड नै पालना नगरेको पाइयो । उपत्यका भित्रिने सवारी चालकका कागजपत्र चेकजाँच गर्दा सामाजिक दुरी नै कायम नगरेको पाइएको हो । चेकजाँचमा खटिएका सुरक्षाकर्मीले मन लागे कागजपत्र हेर्ने र मन नलागे नहेरी पठाउने गरिएको दृश्य नागढुंगा नाकामा देखिन्थ्यो । उपत्यका नगरपालिका मेयर फोरमले संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाले नाकामा कडाई गर्न आग्रह गर्दा पनि त्यहाँ हुन सकेको छैन । यात्रुबाहक सवारीलाई प्रवेश दिइएको छैन ।
सरकारले नै जिल्लाभित्र मात्रै छोटो दुरीका सवारी सञ्चालनको अनुमति दिएको छ । लामो दुरीका सवारी सञ्चालनको मिति अझै तय भएको छैन । उता साँगा नाकामा सवारीको चाप कम देखिए पनि चेकजाँचमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाइएको पाईंदैन ।
उपत्यकामा दैनिक कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । शुक्रबार मात्रै काठमाडौंमा ६ सय २० तथा ललितपुरमा र भक्तपुरमा ३८/३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालालयको तथ्याङ्क रहेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १० हजार ७०८ जना पुगेको छ ।





























प्रतिक्रिया