फुटपाथ र ठेला पसल खोले कोरोना नियन्त्रणबाहिर जान्छ- महानगर

फुटपाथ र ठेला पसल खोले कोरोना नियन्त्रणबाहिर जान्छ- महानगर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले फुटपाथ पसल र ठेला व्यापार खोल्न दिए कोरोना महामारी नियन्त्रण बाहिर जाने भन्दै तत्काल नखोल्न प्रशासनलाई आग्रह गरेको छ।

महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटेर आज ध्यानाकर्षण गराएकी हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने’ आदेश जारी गरेको थियो । सोही बुँदामा फुटपाथ पसल, ठेला व्यापार समावेश भएकोले त्यसलाई हटाउन माग गर्दै आज जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेर उपमेयर खड्गी श्रेष्ठले ध्यानाकर्षण गराएकी हुन्।

महानगरले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेको भन्दै उपमेयर खड्गीले प्रशासनको आदेश महानगरको नीतिविपरीत भएको बताइन्। फुटपाथ पसल र ठेला व्यापार खोल्दा महामारी नियन्त्रणबाहिर जाने उनको भनाइ छ।

ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेश सहरी सौन्दर्य र व्यवस्थापनमा प्रतिकूल गराउने उद्देश्यले जारी नगरिएको बताए। उनले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा यससम्बन्धी छलफल गरेर निर्णयमा पुग्ने बताए।

Logo