काठमाडौं ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी गरिएको निषेधाज्ञाको २० औं दिन पुगेको छ । निषेधाज्ञा भएपछि पछिल्लो दिनहरुमा सडकमा बाक्लै सवारीसाधन गुड्न थालेका छन् । मानिसहरुको आवतजावत पनि बढ्दो देखिन्छ ।
प्रशासनले अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न अनुमति दिए पनि अटेरी गर्ने बढेपछि प्रहरीले कडाई गरेको छ । एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफूल बोकेका सवारी साधन निर्वाध रुपमा सञ्चालनमा रहेका छन् । दैनिक उपभोग्य वस्तु बिहान ११ बजेसम्म र औषधि पसलहरु दिनभर खुला रहेका छन् ।
यसैबीच ललितपुुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको छ । गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्नेक्रममा पक्राउ परेका युवाहरुलाई रिहाई गर्न माग गर्दै सोमबार बिहान स्थानीय केही युवाहरु प्रशासन कार्यालय घेराउ गर्न पुगेका हुन् । विहान करिब ११ बजे जिल्ला प्रशासन कार्यालय पुगेका युवाहरु धर्नामा बस्न थालेपछि प्रहरीले रोकेको हो । प्रहरीले धर्नामा बस्न नदिएपछि युवाहरु प्रहरी नभएको स्थानमा भेला भएको देखिन्छ । अहिले प्रशासन कार्यालय आसपास क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन भएको छ ।
गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना जबरजस्ती मच्छिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा दिनभर विवाद उत्पन्न भएको थियो । युवाहरुले ट्राफिक प्रहरीलाई समेत कुटपिट गरेका थिए । कुटपिटमा उत्रिएका केही युवाहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखेको छ ।





























प्रतिक्रिया