कर्फ्युकाबीच रातो मच्छिन्द्रनाथको क्षमापूजा (भिडियोसहित)

कर्फ्युकाबीच रातो मच्छिन्द्रनाथको क्षमापूजा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लामो समयदेखि रोकिएको रातो मच्छिन्द्रनाथ रथयात्राको क्षमा पूजा भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको मच्छिन्द्रनाथ रथयात्राको शुक्रबार क्षमा पूजा गरिएको हो । ४ महिना लामो लकडाउन र भदौ ३ गतेबाट जारी निषेधाज्ञाका कारण रथयात्रा हुन सकेको छैन । विश्वव्यापी बनेको कोरोना भाइरस संक्रमणको जोखिमका कारण भिडभाड नगर्न सरकारले आग्रह गर्दै आएको छ ।

संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनको आग्रहमा रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निष्कर्षमा सरोकारवालाहरू पुगेका हुन् । रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेको थियो । बैठकले क्षमा पूजा, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय मनाउने साइत हेर्ने निर्णय गरेको छ ।

यसरी साइत हेरे पनि निस्किएको मितिमा मच्छिन्द्रनाथलाई बुंगमति लग्ने निर्णय गरिएको बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यसअघि बिहिबार रथयात्रा गर्न पाउनु पर्ने भन्दै स्थानीय युवाहरुले निषेधाज्ञा तोडेपछि प्रहरीसँग झडप भएको थियो । लामो समयदेखि रोकिएको रथ तान्न भेला भएका युवाहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोड्दै स्थानीयहरु पुल्चोकमा भेला भएका थिए । भिड हटाउन प्रहरीले आग्रह गर्दा पनि स्थानीयहरुले रातो मच्छिन्द्रनाथको रथ तानेर बिच सडकमा ल्याएका थिए । प्रहरीले भिडलाई तितर वितर पार्न खोज्दा आक्रोशित स्थानीयले नाराबाजी गरेका थिए । स्थानीयले नाराबाजी गर्दै प्रहरीलाई ढुंगामुडा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहोरसँगै केही सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा प्रहरी र पत्रकारसहित केही घाइते भएका थिए ।

शुक्रबार ललितपुरमा कफ्र्यु समेत लगाइएको थियो । ललितपुर महानगरपालिका क्षेत्रको रिङरोडभित्र कफ्र्यु आदेश जारी भएको हो ।

लामो समयदेखि रोकिएको मच्छिन्द्रनाथलाई मलमास अगाडि नै बुंगमती लग्नु पर्ने प्रचलन छ । असार १० गतेबाट रथ निमाणको काम सुरु भएको थियो । भदौ १ गतेबाट तानिने भनिए पनि गुठीले तत्काल नतान्न निर्देशन दिएपछि रोकिएको थियो । मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ । गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन । लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा निर्माण सुरू गरिएको थियो ।

Logo