काठमाडौं ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस नेपालमा समुदाय स्तरमा समेत देखा परेको छ। सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते देखि १२० दिन लामो लकडाउन गरेको थियो ।
सरकारले लकडाउन अन्त्य गरेसँगै कोरोना संक्रमणदर पनि कम हुँदै गएको थियो । तर लकडाउन अन्त्य गरेको एक साता नबित्दै कोरोना संक्रमण बढ्दै गएकाले उपत्यकासहित ४९ जिल्लामा पुनः निषेधाज्ञा जारी गरिएको छ । उपत्यकामा भदौ ३ गतेदेखि ७ दिनको लागि निषेधाज्ञा लागू भएको थियो तर कोरोना संक्रमणदर बढिरहेकाले भदौ १७ गते अर्थात् आजसम्म लकडाउन रहेको छ।
सरकारले यसरी लकडाउन तथा निषेधाज्ञा लागू गरे पनि संक्रमण भने दिनप्रतिदिन बढीरहेको छ। अहिले उपत्यका लगायत देशैभरि उच्चतहका व्यक्तिदेखि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी तथा फोहोर मैला व्यवस्थापन गर्ने मजदूर बढी जोखिममा परेका छन् ।
देशको राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाका दुई जना फोहोर व्यवस्थापन गर्ने कर्मचारी तथा महानगरमा कार्यरत ६ जनामा कोरोना संक्रमण देखिएको र सोमबार महानगरका मेयर विघासुन्दर शाक्यलाई समेत कोरोना संक्रमण भएको महानगरका वरिष्ट स्वास्थ्य निरीक्षक ज्ञानबहादुर ओलीले बताए ।
उनका अनुसार महानगरको फोहोर व्यवस्थापनमा खटिएका दुई जना सवारी चालकलाई कोरोना संक्रमण भएको छ। पछिल्लो तीन सातादेखि उपत्यकामा दिनप्रतिदिन संक्रमण बढीरहेको छ । काठमाडौं महानगरले फोहोर मैला व्यवस्थापन गर्न कर्मचारीहरुलाई सुरक्षित रहेर काम गर्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह तथा पिपिई समेत उपलब्ध गराएको महानगर वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।
उनका अनुसार अहिले कोरोना भाइरसको प्रवाह नगरी जनताको सेवामा अहोरात्र स्थानीय जनप्रतिनिधी, स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरु, विशेष गरी सफाइमा काम गर्ने कर्मचारीहरु आफ्नो काममा खटिएका छन् । उनले भने, ‘कर्मचारीलाई पनि संक्रमण भएकाले फोहोर व्यवस्थापन गर्न कठिन भएको छ । मानिसहरुले सडकमा नै जथाभावी फोहोर फ्याँक्ने गरेकाले पनि फोहोर उठाउन समस्या भईरहेको छ।’
तर पनि सफाईमा कार्यरत कर्मचारीहरुले जनताको सेवा प्रवाह गरी रहँदा कोरोना भाइरसले आक्रमण गरेको अवस्थामा पनि उक्त व्यक्तिको घर परिवारलाई हेर्ने दृष्टिकोण र सबैको व्यवहारमा सकारात्मक सोच नभएको उनको भनाइ छ । अहिले महानगरको फोहोर व्यवस्थापन गर्न करिब १ हजार भन्दा बढि र निजी कम्पनीका ३ हजार गरि ४ हजार भन्दा बढी महानगर भित्रको फोहोर उठाउने मजदूर रहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।
यसरी फोहोर व्यवस्थापनमा खटिएकाहरुलाई संक्रमण हुन नदिन सुरक्षा मापदण्ड अपनाउन सबै सामाग्री उपलब्ध गराएको र यदि कसैलाई भई हालेमा उपचारको उचित व्यवस्था गरिएको छ । बेलाबेलामा पिसिआर परिक्षण पनि गरिरहेको उनको भनाइ छ।
महानगरवासीहरुाई आ–आफ्नो घर, पसल, उद्योग, कल कारखाना, व्यवसाय तथा कार्यालय, आदिबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याई सकेसम्म कुहिने फोहोरलाई आफ्नै घरको करेशाबारीमा व्यवस्थापन गर्नु र नकुहिने फोहोरलाई सडकमा जथाभावी नफाली फोहोर लिन आएका गाडीमा राखि फोहोर व्यवस्थापन कार्यमा सहजीकरण गरी जोखिम न्यूनीकरण कार्यमा सहयोग गर्न अनुरोध गर्दा पनि जथाभावी फोहोर फाल्ने गर्नाले व्यवस्थापन गर्न कठिन भएको छ भने सिसडोलमा फोहोरको डङ्गुर भएर बसेको विभागले जनाएको छ।





























प्रतिक्रिया