सप्तरी । श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने एक युवकलाई बिहीबार अदालतले पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ।
जिल्ला अदालतको आदेशमा आरोपित सुरुङ्गा नगरपालिका–१ लक्ष्मीपुरका २५ वर्षीय दिपेन भनिने दिपेन्द्र सदालाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाइएको छ।
गत साउन ७ गते बिहानै मदिरा खाएर मातिएका दिपेनले कुटपिट गरी शरीरमा मट्टितेल खन्याई आगो लगाएर घाइते बनेकी पीडित खर्च अभावमा घरमै बसेकी थिइन्। आरोपित श्रीमान भने घटना लगत्तै पक्राउ परे।
आगो लगाएको घटना थाहा पाएर छिमेकीले आगो निभाए पनि बसन्तीको छातिदेखि तलको अधिकांश भाग जलेको रामकुमार शारदा उमाप्रसाद मुरारका लहान अस्पतालका डाक्टर सुनिल कुशवाहाले जानकारी दिए।
घाइतेका बुवाले तत्कालै इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएपछि आरोपित पक्राउ परेका हुन्। घरदेखि पीडितको माइत दुई किलोमिटरको दूरीमा छ।
आगो लगाएर ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेको प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला अदालतमा पेश गरेकामा बिहीबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए।
“आपसी विवादका कारण भारतबाट आएको दोस्रो दिन नै श्रीमानले श्रीमतीलाई आगो लगाएको देखिन्छ”, प्रहरी निरीक्षक केशरीले भने, “घाइतेका बुवाले आगो लगाएको भनेर किटानी जाहेरी दिए पनि शुरुमा घाइतेले आफै जलेको भनेर कुरा लुकाउन खोजेकी थिइन् तर घरपरिवार र गाउँलेको दबाबमा आरोपित श्रीमानलाई जोगाउन खोजेकी रहिछिन्।”
घटना भएलगत्तै प्रहरीले उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरेको प्रहरी निरीक्षक केशरीले जानकारी दिए।
सो अस्पतालले रेफर गरेपछि नोबेल अस्पताल विराटनगर पुर्याइएकी घाइतेलाई नोबल अस्पतालले भर्ना लिन नमानेपछि पुनः फर्किएर राजविराज आएको घाइतेका ससुरा हरि सदाले बताए।
खर्च अभावमा औषधी उपचार नै नगराइ घाइतेलाई घरमै राखेको अवस्थामा जानकारी पाएपछि घर नै पुगेर मनोविमर्श गरी लहानस्थित अस्पताल ल्याएको मनोविमर्शकर्ता रेणुले बताए।
लहान अस्पतालले पनि उपचारका लागि उपयुक्त स्थान काठमाडौँ वा धरान लैजान सुझाए पनि केन्द्रको आग्रहमा केही दिनका लागि प्राथमिक उपचार गर्न तयार भएको समग्र जनउत्थान केन्द्रका निर्देशक देवराज पोखरेलले बताए।
केन्द्रले लहानमै उपचार सम्भव ठानेर उद्धार गरी लहान अस्पताल भर्ना गरे पनि उपचारमा संलग्न डा रोहित साहले शरीरको ५५ देखि ६० प्रतिशत भाग जलेका कारण विशेष उपचार आवश्यक हुँदा काठमाडौं लैजानुपर्ने बताएका छन्।





























प्रतिक्रिया