सिन्धुपाल्चोक ।
पहिरोको उच्च जोखिममा परेपछि बलेफी गाउँपालिकाले २५ घरपरिवारलाई सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको छ । वडा नं १ स्थित खमारेका २५ घरपरिवार पहिरोको जोखिममा परेपछि उनीहरुलाई गाउँपालिकाले तत्काल सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको हो ।
गाउँपालिकाले जग्गा भाडामा लिएर पहिरोको जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा अस्थायी स्थानान्तरण गरेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले बताए । गाउँपालिकाका तर्फबाट प्रति परिवार तीन बण्डल जस्तापाता, ग्याससहितको सिलिण्डर, अस्थायी शौचालय, खानेपानी लगायत प्रबन्ध मिलाइएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिबाट त्रिपाल, कम्बल लगायत सामग्री आएको र विद्युतमा नेपाल विद्युत् प्राधकिरणले सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए। वडाका २५ घरधुरीका नागरिक पहिरोको जोखिममा परेपछि वडाध्यक्ष मधु थापाले उनीहरुको स्थानान्तरणका लागि पहलकदमी लिएका थिए ।
त्यस्तै पहिरोले सुनकोशी गाउँपालिका–६ मा दर्जनौँ घर जोखिममा परेपछि निरीक्षण र स्थानीयवासीको अवस्था बुझ्न वाग्मती प्रदेशसभा, अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल सुन्दरडाँडा पुगेका छन् । जोखिममा परेका स्थानीयवासीलाई भेट्न र तत्काल राहत तथा उनीहरुको जिउधनको रक्षाका लागि पहल गर्न उनी विहिबार उक्तस्थलमा पुगेका हुन् ।
राप्रपाद्वारा लिदी पहिरोपीडितलाई पाँच लाख
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुगल गाउँपालिका– २ लिदीका पहिरो पीडितलाई रु पाँच लाख छ हजार प्रदान गरेको छ । पहिरोपछि जुगल–१, बाँसखर्कमा अस्थायी क्याम्पमा बसिरहेका पीडितलाई राप्रपाले सहयोग गरेको हो । पहिरोमा परी मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार रु १२ हजार प्रदान गरिएको राप्रपाका केन्द्रीय सदस्य रमेश लामाले जानकारी दिए। त्यस्तै पूर्ण घर क्षति भएका १८ परिवारलाई जनही छ हजार र विस्थापित १२७ घरधुरीलाई प्रतिपरिवार रु दुई हजारका दरले राहत उपलब्ध गराइएको थियो ।रासस































प्रतिक्रिया