पछिल्लो समय विश्वभरि डडेलो झैँ फैलिएको कोरोना भाइरस संक्रमणले अहिले विश्वलाई आक्रान्त बनाएको छ । भाइरसबाट हालसम्म विश्वभर २ करोड ४३ लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने ८ लाख २९ हजार बढी मानिसको मृत्यु भईसकेको छ । त्यस्तै संक्रमणबाट १ करोड ६८ लाख ७७ हजार भन्दा बढी निको भएका छन् ।
गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान शहरबाट फैलिएको यस भाइरसको ८ महिना बितिसक्दा पनि कुनै औषधि बन्न सकेको छैन । स्वास्थ्य संगठन र सरकारले सबैलाई सामाजिक भेला नगर्न, एक्लै आइसोलेसनमा बस्न र भौतिक दूरी कायम गर्न निर्देशन दिएको छ । त्यसलै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशहरुमा लकडाउन जारी गरिएको छ ।
यसै क्रममा बिद्यालय, सिनेमा हल, स्वीमिङपुल, जीम, रंगशाला, मल, होटल, लगायतका मनोरन्जनात्मक कामहरु सबै बन्द भएका छन्् । कोरोना कहरका साथै लकडाउनले मानिसहरु चिन्ता, तनाव साथै डिप्रेसनमा समेत पुगेका घटनाहरु देखिनै रहेका छौं ।
कोरोना भाइरसको सङ्क्रमणले विश्वभरिका मानिसको खुशीलाई निराशामा बदल्दैछ । यो क्रममा त्रसित मानिसहरु खुशी हुने उपायको साथै कोरोना बिर्साउने कुरा तथा उपायहरुको खोजी गरिरहेका छन् ।
के के गर्नाले कोरोनाको डर बिर्साउन सकिन्छ त ?
१. कमेडी फिल्म
यस्तो अवस्थामा आफु र अरुलाई खुशी राख्ने सजिलो तथा उत्कृष्ट उपाय हो, कमेडी फिल्महरु हेर्ने । संसारमा अनेक प्रकारका फिल्महरु बन्छन् । मानिसका फिल्म हेर्ने आ–आफ्नै तरिका र रुचीहरु हुन्छन् । तर, अहिलेको परिस्थितिमा कमेडी फिल्म हेर्नु उचित मानिन्छ । किनकी कमेडी फिल्मको संवाद, पात्रहरूको निर्दोषपना, उनीहरूको मूर्खता वा बठ्याँइजस्ता कुराले हामी फिल्म हेरेर हाँस्छौं । जसले गर्दा हामीले एकैछिन भएपनि आफ्नो तनावलाई भुल्न सक्छौं ।

हल्काफुल्का किस्सा जोडेर हँसाउने फिल्मको असर क्षणिक भए पनि पटकथा, संवाद, स्क्रिनप्ले र अभिनयको संयोजनले हँसाउने फिल्महरू दर्शकका आँखामा धेरै वर्ष बाँच्छन् । पछिल्लो समय बजारमा प्रशस्त मात्रामा नेपाली, बलिउड तथा हलिउड कमेडि फिल्महरु हेर्न सक्छौं ।
२. टिकटकको सदुपयोग
पछिल्लो समय टिकटकले अधिकांशको दैनिकी कटाउन सहजीकरण भएको छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने लकडाउनपछि यसको प्रयोग झण्डै दोब्बर भएको छ ।
टिकटक मनोरञ्जनका लागि मात्र होइन, सूचनाका लागि पनि अपरिहार्य बन्दै गएको छ । सन् २०१७ मा चीनभन्दा बाहिरको बजारलाई लक्षित गर्दै आइओएस र एन्ड्रोइडका लागि ‘टिकटक’ लन्च गरिएको थियो । चाइनिज एप टिकटकमा फिल्मका गीत र डाइलगमा लिपसिङ् गरेर छोटो भिडियो पोष्ट गर्ने एपका रुपमा सुरुमा चिनिए पनि अहिले यो बहुआयामिक बनिरहेको छ ।

आफ्नो प्रतिभा देखाउने त छँदैछ, संसारभर के कुरा ट्रेन्डिङमा छ भनेर थाहा पाउन सकिने सबैभन्दा सहज माध्यम नै अहिले टिकटक एप हो । राजनीतिदेखि चलचित्रसम्म अध्यात्मदेखि संगीतसम्म सबै विधाका ‘हट टपिक’ सबैभन्दा पहिले टिकटकमा आउन थालेका छन् ।
सुरुमा टीनएजका केटीहरु यसमा आकर्षित भए पनि अहिले हरेक उमेर समूहकालाई यसले लठ्याइरहेको छ । आजकाल बौद्धिक क्षेत्रका व्यक्तिहरुसमेत यसमा रमाउन थालेका छन् । कुनै पनि महत्वपूर्ण कार्यक्रम वा रोचक घटनाहरुको भिडियो सबैभन्दा पहिले टिकटकमा भेटिन्छ ।
कोरोनाको प्रभाव बढ्न थालेपछि मानिसहरु आ–आफ्नो घरभित्र कैद भएका छन् । यस्तो बेलामा दिमागमा अनेकथरीका कुराहरू खेल्न सक्छ । जसले गर्दा विभिन्न खालका रोगहरुको शिकार बन्न सकिन्छ । तसर्थ यो समयमा टिकटकलाई बिताउने र कोरोनाको डर भगाउँने माध्यम बनाउन सकिन्छ । टिकटक बनाएर सिर्जनशिल बन्न सकिन्छ भने आम्दानी समेत गर्न सकिन्छ ।
३. अनलाइन गेम
पछिल्लो समय अनलाइन गेमहरु निकै लाकप्रिय भइरहेको छ । नेपालमा सबै उमेर समुहका माझ लोकप्रिय र लत बनेको गेमको हो पब्जी, लुडो । एक प्रकारको भर्चुअल गेम जुन इन्टरनेटको माध्यमबाट खेलिन्छ । कम्प्युटर वा कुनै विद्युतीय ग्याजेटहरु जस्तै फोन, ट्याब्लेट, ल्यापटप, प्ले स्टेशन आदिमा खेलिने खेलहरु हुन् । यसरी आफ्नो विद्युतीय ग्याजेटमा अनलाइन वा अफलाइन गेमहरु खेलेर पनि आफुलाई व्यस्त राखेर कोरोनाको डर बिर्सन मद्दत पुग्छ ।

यस्तै बच्चाहरु घरबाहिर खेल्न जाने अवस्था पनि नभएकाले अनलाईन गेममा भुलाउन सजिलो पनि भइरहेको छ । यस समयमा आफ्नो खाली समय गेम खेल्दै बिताउन सकिन्छ । जसले गर्दा आफ्नो दिमागलाई व्यसत राख्न सकिन्छ । तर सधै गेममै भूल्नु भने हुँदैन ।
४. ध्यान र व्यायाम
आजभोलिको व्यस्त जीवनशैली र कोरोनाको तनावग्रस्त अवस्थाले प्राय मानिसलाई धेरै समस्याहरु देखिएको छ । विशेष गरी मानसिक रोग धेरैमा देखिएको छ । त्यसैले यस महामारीको डरलाई बिर्सनका लागि र आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नको लागि भएपनि दैनिकरुपमा ध्यान गर्न आवश्यक छ । ध्यान गर्नाले मनको शान्ति तथा तनावबाट मुक्त हुन सहज हुन्छ । जसका कारण मानिसको सम्झनसक्ने शक्तिमा समेत वृद्धि हुन्छ ।

त्यस्तै व्यायाम गर्दा पनि स्वास्थ्य निकै राम्रो हुन्छ । तौल नियन्त्रण तथा शारीरिक र मानसिक स्वास्थ्य सुधार्न दौडिने, साइक्लिङ, योगा वा हल्का कसरत गर्न जरुरी छ । व्यायामले तनाव कम गर्न सघाउँछ र आनन्दको अनुभव गर्न सकिन्छ । जसले गर्दा एन्जाइटी, डिप्रेसन, निद्रा नलाग्ने समस्या र महामारीको तनावबाट पनि बच्न सकिन्छ ।
५. पर्याप्त निदाउनु
विशेषज्ञहरूअनुसार आठदेखि दस घण्टा सुत्नुपर्छ । पर्याप्त मात्रामा सुत्दा दिमागलाई चुस्त राख्न सकिन्छ । निद्रालाई दिमागको आहार पनि भनिन्छ ।
पर्याप्त मात्रामा सुत्दा मुड राम्रो हुन्छ । पर्याप्त मात्रामा सुत्न नपाएका मानिसहरूको मुड परिवर्तन भइरहन्छ अनि उनीहरू प्रायः तनाव र निराश महसुस गर्छन् ।

पर्याप्त मात्रामा सुत्दा स्वास्थ्य राम्रो हुन्छ । पर्याप्त मात्रामा सुत्दा हाम्रो शरीरको कोष, तन्तु र रक्तनलीहरू सुचारु तवरमा चल्छ । राम्ररी सुत्दा मोटोपन, मधुमेह र मस्तिष्कघातजस्ता खतरालाई पनि कम गर्न सकिन्छ । अहिलेको अवस्थामा पर्याप्त रुपमा आराम र निन्द्रा शरीरले पाउँन आवश्यक छ ।
पर्याप्त निन्द्राका लागि ओछ्यानमा जानुअघि आराम गरेमा छिटो निदाउन सकिन्छ ।
६. पुस्तक पढ्ने
पुस्तक पढ्ने बानी तनाव घटाउने सजिलो उपाय हो । पुस्तक पढ्ने बानीले मस्तिस्कको कसरत हुन्छ । दिमाग सँधै जिवन्त र विचारशिल रहन्छ । यसले व्यक्तिको सोच्ने–बुझ्ने दायरा फराकिलो हुन्छ । पुस्तक पढ्ने व्यक्तिले अक्सर कुनै गलत निर्णय लिँदैन किनभने हरेक महत्वपूर्ण कुराको राम्रो र नराम्रो पक्ष गहिराईमा पुगेर विचार गर्ने उसको आदत हुन्छ ।
त्यस्तै पुस्तक पढ्ने समयमा पाठक एक्लो हुन्छ र पढाईमा पुर्णरुपमा हराउँछ । यो क्रियाले एकाग्रतालाई बढाउँछ । पुस्तक पढ्नाले मनको चञ्चलतामा समेत नियन्त्रण गर्छ ।

पुस्तक पढ्नाले तनाव बढाउने हार्मोन अर्थात कार्टिसोल कम हुन्छ । तनावग्रस्त अवस्थामा विभिन्न खालका निरर्थक कुराहरु दिमागमा आउँछन् र मन शान्त रहन लगभग असम्भव हुन्छ । दिमागमा आउने निरर्थक कुराहरुमा लगाम कस्ने काम पुस्तकले गर्छ र तनाव दुर गराउँछ ।
साथै रातमा सुत्नुभन्दा पहिले यदि केही समय पढ्ने बानी बसाल्ने हो भने गहिरो निन्द्रा आउँछ । राम्रो पुस्तक पढेर सुत्ने बानी बसालेमा भोलिपल्टको दिन पनि रमाइलोसँग बित्छ ।
७. सिक्ने र सिकाउने
यति धेरै लामो समयको फुर्सद विरलै मिल्छ । नेपालका हरेक समुदायका आ–आफ्नै सांस्कृतिक, परम्परागत र धार्मिक जीवन उपयोगी सीप र कला छन् । समय अभाव, विश्वव्यापीकरणको नाममा होस्, आधुनिकीकरणको नाममा होस् या औपचारिक शिक्षा मात्रको महत्वको नाममा होस् हाम्रो अघिल्लो पुस्ताले आफूसँग भएका ती सीप र कला नयाँ पुस्तालाई सिक्न नपाएका धेरै चीजहरु छन् ।

त्यसैले यो शून्य समय ती जीवन उपयोगी कला र सीप हस्तान्तरण गर्ने र गराउने एकदमै उपयुक्त समय रहेको छ । त्यस्तै रचनात्मक कुराहरु पनि सिक्न सकिन्छ जसले दिमागलाई व्यस्त राख्न मद्दत गर्छ ।
८. अनौपचारिक शिक्षाको समय
अहिलेको समयमा हुन त औपचारिक शिक्षासँग अनौपचारिक शिक्षाको तुलना नहुन सक्छ । तर, सामूहिक, सांस्कृतिक र व्यवहारिक भावनाले जोडिएको शिक्षा लिन, दिन सकिन्छ ।
यो अवस्थामा हरेक व्यक्तिमा अब के हुन्छ भन्ने डर छ । त्यसैले यस्तो मनोवैज्ञानिक अवस्थाको कारणले गर्दा यो समय अनौपचारिक शिक्षा दिने र लिने एकदमै फलदायी हुन्छ । विशेषगरी जीवन उपयोगी सीपहरु र आफ्नो चासो वा इच्छाअनुसारका सिपहरु सिक्ने यो एकदमै राम्रो अवसर हो । औपचारिक शिक्षाबाट लिन नसकिएका धेरै ज्ञान अनौपचारिक शिक्षा प्रणालीबाट प्राप्त गर्न सकिन्छ । यसले गर्दा व्यक्तिगत रुपमा व्यस्त साथै बौद्धिक रुपमा पनि सक्षम हुन सकिन्छ ।
९. प्रकृतिसँग पुनः प्रेम
पछिल्लो एक शताब्दीमा मानिसले प्रकृतिलाई असाध्यै धेरै दुरुपयोग गरेको छ । लकडाउनले गर्दा प्रकृतिलाई मौलिक स्वरुपमा फर्किन मद्दत गरेको छ । हाम्रा सहरहरु सुन्दर, सफा र स्वच्छ भएका छन् । चर्चित सहरमा जङ्गली जनावर, सडकमा बिरुवा र नदी किनारमा देखिएका अभुतपूर्व दृश्यहरुले प्रकृति र मानवबीचको महत्व र सम्बन्धबारे ठूलो पाठ सिक्ने अवसर दिएको छ ।

कसरी प्रकृतिको अति न्यून प्रयोग गरेर उच्च फाइदा लिन सक्ने भनेर आउँदो पुस्तालाई सिकाउने अवसर मिलेको छ । यसका लागि बालबालिकालाई पनि प्रकृतिसँगको प्रेम देखाउँने समय हामीलाई प्रदान गरेको छ । हामीलाई प्रकृतिसँग प्रेम सम्बन्ध पुनः गाँस्ने अवसर प्रदान गरेको छ । त्यसैले यस्ता कुराहरुमा आफुलाई व्यस्त राखे कोरोनाको डर बिर्साउँन सहज हुन्छ ।
१०. पारिवारिक सम्वन्धलाई मजबुद
हामीले विभिन्न कारणले घरभित्रका सदस्यको भूमिका बुझ्न सकिरहेका हुँदैनौं या बुझाउन चाहेका हुँदैनौं । त्यसैले यो समय भूमिका अनुभूति गर्ने र गराउने स्वर्णिम अवसर हो । लकडाउनमा घरमा सँगै बसेका सदस्यहरुको हरेक दिन भूमिका फेरिदिने र हरेक साँझ त्यसको बारेमा मूल्याङ्कन र अनुभव साटासाट गर्न सकिन्छ ।
यसले एकअर्काको भूमिका अनुभूति गराउँछ र हरेकको भूमिकाप्रति सम्मान उजागर गर्दछ । यसले परिवारका सदस्यहरुबीचको सम्बन्ध दीर्घकालीन पनि बनाउन मद्दत गर्दछ ।
त्यस्तै, यसले भोलि आउन सक्ने र निभाउनुपर्ने भूमिकाबारे दोस्रो पुस्ता अभ्यस्त हुन्छ र उनीहरुको जीवन सहज हुन सक्छ । नयाँ पुस्ताले केही अति आवश्यक सीपजस्तै भान्साको काम, घर सञ्चालनको लागि बजेट बनाउने काम, सरसफाई गर्ने काम र महत्वसहित बुझ्ने अवसर प्राप्त गराउँन सकिन्छ ।

अरुबेला व्यस्त रहने भएकाले परिवारमा समय दिन नसकेको हुन सक्छ । त्यसकारण यो समयको सदुपयोग गरी परिवारका सदस्यलाई भरपुर माया, स्नेह र प्रेम गर्न सकिन्छ । यसले पारिवारिक सम्बन्धलाई थप मजबुद बनाउँछ ।





























प्रतिक्रिया