अन्डरग्राउन्ड पार्किङलाई अन्य प्रायोजनमा प्रयोग गर्न बनाइएका संरचना हटाउने अभियानलाई काठमाडौं महानगरले तीब्र बनाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले नै यस्ता ठाउँमा अवलोकन गरेर संरचना हटाउन निर्देशन दिइरहेका छन् ।
दुई दिनअघि सोमबार नयाँबानेश्वरस्थित बानेश्वर प्लाजामा पार्किङ नक्साका लागि पास गरिएको ठाउँमा सञ्चालनमा रहेको पसल महानगर र ट्राफिक प्रहरी महाशाखाको समन्वयमा तोडिएको थियो।
महानगरले यसअघि नै त्यस्ता संरचना हटाउन ३५ दिने सूचना दिएको र सोको म्याद सकिएपछि बानेश्वरबाट अन्डरग्राउन्ड पार्किङ खुलाउने अभियान थालेको जनाएको छ । यो अभियान महानगरका सबै वडामा सञ्चालन गर्ने महानगरको भनाइ छ।
अभियानमा काठमाडौंको बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेक्सको अवलोकनका क्रममा महानगरका मेयर बालेन साहले आक्रामक शैली देखाएका छन् ।
अन्डरग्राउन्डमा व्यवसाय सञ्चालन गरेका घरबेटीलाई उक्त व्यवसाय गरिरहेको ठाउँबाट हट्न भनिरहेका बेला कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग मेयर साह झोक्किएका हुन् ।
संरचना हटाउन आफूलाई नगरपालिकाबाट कुनै सूचना नआएको र थाहा नभएको निर्देशक शर्माले भनेका थिए । त्यतिबेला कम्प्लेक्सको नक्सा आफूसँग नभएको भन्दै निर्देशक शर्माले मेयर साहसँग हुनुपर्ने भनेपछि उनी आक्रामक देखिएका थिए ।
३५ दिने सूचना सार्वजनिक रुपमा जारी गरिएको भन्दै निर्देशक शर्मासँग मेयर शाहले भनेका थिए, 'तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग' भनेपछि भीडमा सहभागीमध्ये एकले मेयर साहलाई जनप्रतिनिधि भएर थर्काएको भनेपछि उनी शान्त भएका थिए ।
सामाजिक सञ्जालमा प्रकाशित भिडियोहरुमा त्यसपछि निर्देशक शर्माले मेयर साहलाई डन शैली देखाएको भन्दै गुनासो गरेको देख्न सकिन्छ । मेयर बालेनसँग उनले जनप्रतिनिधि भएर पनि डन शैली देखाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बिहीबार मेयरबालेनसहितको टोली नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन पुगेको छ।
महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले सो क्षेत्रमा बनेका अनधिकृत संरचनाको अवलोकन गरेको छ ।
शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेको महानगरको टोलीसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने प्रतिबद्धता जनाएका छन् ।
महानगरको टोलीले बिहीबार सो क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ गर्ने स्थानमा व्यवसायका लागि भाडामा दिएपछि सो स्थान खाली गराउन निर्देशन दिएको छ ।
काठमाडौं महानगर मात्रै नभएर अहिले कीर्तिपुर नगरपालिकाले अवैध संरचना भत्काउने अभियान थालेको छ । बिहीबार वडा नं १० को नयाँ बजारमा नक्सा पास नभएको संरचना भत्काइएको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले बताएका छन् ।
पार्किङको चरम समस्याका कारण अव्यवस्थित काठमाडौंमा यसरी पार्किङका लागि बनाइएका ठाउँ अन्य काममा प्रयोग हुनुले झनै समस्या निम्त्याएको भन्दै कतिपयले मेयर बालेनको यो कदमको स्वागत गरेका छन् । कतिपयले भने महानगरको यो कदमको विरोध समेत गरेका छन् ।































प्रतिक्रिया