विधायन व्यवस्थापन समितिले बहुमतले पारित गरेको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभामा पेस गरिएको छ ।
विधायन समितिले बुधबार बहुमतले पारित गरेको उक्त नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन बिहीबार बसेको राष्ट्रिय सभामा समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले पेस गरेका हुन् ।
संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई केही विषयमा संशोधनको आवश्यकता औंल्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित फिर्ता पठाएकी थिइन् । त्यसपछि बसेको प्रतिनिधिसभा बैठकले विना संशोधन जस्ताको तस्तै उक्त विधेयक पारित गरिसकेको छ । प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाइएको थियो ।
राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो । विधायन समितिले पनि विना संशोधन पारित गरी राष्ट्रिय सभामा पेस गरेको हो ।
साथै राष्ट्रिय सभा बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गरेको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रश्तावलाई सर्वसम्मतीले पारित गरेको छ । त्यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गरेको शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव पनि वहुमतले स्वीकृत भएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक आजै अपरान्ह ४ः४९ बजे बस्नेगरी बोलाइएको छ ।





























प्रतिक्रिया