नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई ५० प्रतिशत सिट लिएर चुनावमा जान प्रस्ताव गरेका छन् ।
बिहीबारको गठबन्धनको बैठकमा दाहालले १६५ सिटमध्ये ५० प्रतिशत सिट आफू राखेर बाँकी सिट गठबन्धनका अन्य दललाई दिन कांग्रेसलाई आग्रह गरेका हुन् । दाहालको प्रस्ताव अनुसार गए कांग्रेसले ८२ देखि ८३ सिट मात्र पाउने छ । सोही बैठकमै कांग्रेस नेता रामचन्द्र पौडेलले आफूहरू ९० सिटभन्दा तल झर्न नसक्ने अडान राखेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा भने ८६ सिटमा राजी भएको कांग्रेस स्रोतको दाबी छ । एक नेताकाअनुसार देउवा कांग्रेसले कम सिट लिएर भएपनि लोकतान्त्रिक समाजवादी लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि गठबन्धनमा ल्याउने रणनीतिमा छन् ।
नेताहरूले आ(आफ्नो अडान नछाडेपछि झण्डै ११ घण्टा बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने सहमति नजिक पुगेको भन्दै दुई दिनभित्र सबै मिलिसक्ने दाबी गरेका छन् । पछिल्लो समय सिट बाँटफाँडका लागि गठबन्धन कार्यदल र शिर्ष नेताहरुको बैठक निरन्तर बस्दै आएको छ । तर सबैले धेरैसिट खोज्दा सहमित हुन सकेको छैन ।































प्रतिक्रिया